२१ वैशाख २०८१, शुक्रवार

गौरीगञ्जका सापकोटा छातीमा उमार्दै जमरा

२ कार्तिक २०८०, बिहिवार
Image

झापा, २ कात्तिक ः दसैंका बेला घरघरमा दुर्गा भवानीको पूजासँगै जमरा उमार्ने प्रचलन रहेको छ । ती जमरा मान्यजनका हातबाट टिकासँगै ग्रहण गर्ने परम्परा छ । तर, दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका वडा नं. २ स्थित एक मन्दिर परिसरमा ५१ वर्षीय प्रह्लाद सापकोटाले छातीमा दसैंको जमरा उमार्नु भएको छ ।

गाउँपालिकाकी उपप्रमुख पुजन न्यौपानेका अनुसार स्थानीय पाथिभरा मन्दिरमा घटस्थापनाका दिनदेखि निराहार ब्रत बस्नु भएको सापकोटाले दसैंमा टिका लगाउनका लागि छातीमा जमरा उमार्नु भएको हो ।

असोज २८ गते विहान पूजापाठ गरेर सापकोटा मन्दिर परिसरमा सुत्नु भएको हो । जमरा रोप्नुभन्दा दुई दिन अघिदेखि पानी र अन्न समेत नखाई निराहार ब्रतमा रहनु भएको उहाँले दुर्गा भगवतीको प्रसादको रुपमा जमरा प्रयोग गरिने बताउनुभएको थियो । छातीमा बालुवामाथि टपरामा जमरा उमार्न मकै, जौं लगायतका अन्नका दाना रोपिएको थियो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीका अनुसार ब्रतमा बसेको दुई दिनपछि जमरा उम्रिएका छन् । मन्दिरमा दैनिक पूजापाठ हुने गरेको र छातीमा उम्रिएको जमरा हेर्न भक्तजनहरुको घुइँचो लाग्ने गरेको उहाँले जानकारी दिनुभयो ।

धार्मिक स्वाभावका सापकोटाले कुनै शारीरिक कस्ट नभएको प्रतिक्रिया जनाउनु भएको छ । उहाँले ब्रतका बेला मलमूत्र त्याग समेत गर्नु भएको छैन ।

सापकोटाले आफुलाई पाथिभरा भगवतीको भक्त ‘माता गुरु’ बताउने गर्नु भएको छ । उहाँका ६ जना सेवकले मन्दिर क्षेत्रमा आउने भक्तजनको व्यवस्थापन गरिरहेका छन् । 

स्थानीय तारा गिरीले जीवनमै पहिलोपल्ट छातीमा जमरा उमारेर निराहार ब्रत बसेको देख्दा अचम्म लागेको बताउनुभयो । महानवमीका दिन एक लाख दीप प्रज्ज्वलन गरेर ब्रत समापन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

दसैंको महानवमीका दिनसम्म दुर्गा भवानीको विधिपूर्वक पूजा गरेर छातीमा राखिएको मकै र जौको जमरालाई प्रसादका रुपमा सर्वसाधारणलाई दिइने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कार्कीले बताउनुभयो ।