१५ वैशाख २०८१, शनिवार

थिएटरमा नाटक हेर्ने दर्शक बढे

४ कार्तिक २०८०, शनिवार
Image

झापा, ४ कात्तिक । झापामा आधुनिक थिएटरमा नाटक हेर्ने दर्शक बढ्दै गएका छन् । यो साता जिल्लाको दमक र काँकडभिट्टामा दुई वटा अलगअलग थिएटरमा मञ्चन भएका नाटकले वाहवाही पाए ।

परिवर्तन थिएटरले आदिवासी मेचे समुदायको कथावस्तुमा आधारित ‘म्लेच्छ’ नामक नाटक मञ्चन गर्यो भने दमकको कदम थिएटरले प्रसिद्ध साहित्यकार इन्द्रबहादुर राईको ‘जयमाया आफुमात्रै लिखापानी आइपुगी’ नामक प्रस्तुत गरेको थियो ।

‘म्लेच्छ’का लेखक पर्वत पोर्तेलले दर्शकबाट पाएको माया र प्रतिक्रियाबाट आफु उत्साहित रहेको बताउनुभयो । अघोरी जंगल फाँडेर बसोबास गरेका आदिबासीहरु कसरी आफ्नो थातथलोबाट बेदखल भए र उनीहरुमाथि राज्यले पनि कसरी विभेद गर्यो भन्ने इतिहासलाई पोर्तेलले ‘म्लेच्छ’मा उतारेका हुन् ।

झापामा थिएटरमा नाटक हेर्ने संस्थागत चलन सुरु भएको एक दशकभन्दा धेरै भएको छैन । तर, छोटो अवधिमै कलाकारहरुको मिहेनत र दर्शकको मायाले थिएटर संस्कृति मौलाएको छ । 

दमकको कदम थिएटरमा प्रस्तुत ‘जयमाया आफुमात्रै लिखापानी आइपुगी’ हेर्न दर्शकको घुइँचो लागेको थिएटरका महासचिव कमन देवानले बताउनुभयो । यसअघिका नाटकमा पनि दर्शकको अपार उपस्थिति रहने गरेको थियो ।  

दोस्रो विश्वयुद्धमा बर्मा ९हाल म्यान्मार०मा जापानी फौजले आक्रमण गरेपछि त्यहाँका नेपालीमूलका बासिन्दा ज्यान जोगाउन कयौ रात र दिन जंगलको बाटो हिँडेका थिए । त्यही क्रममा जयमाया कसरी लिखापानी भन्ने ठाउँमा एक्लै आइपुगिन् भन्ने कथा इन्द्रबहादुर राईले लेख्नु भएको थियो । नाटकमा त्यही कथा देखाइएको देवानले जानकारी दिनुभयो ।

झापाको दमक र काँकडभिट्टापछि विर्तामोडमा पनि आधुनिक थिएटर छ । क्षितिज नाट्य समूहले विर्तामोडमा आधुनिक नाटकघर र संग्रहालय निर्माणका लागि अभियान सञ्चालन गरिरहेको छ । 

“झापामा नाटक मन पराउने र माया गर्ने दर्शकको खाँचो छैन,” क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पित भन्नुहुन्छ–“तर, सरकारी तहबाट चाहिँ यसको महत्व नबुझेको देख्दा अचम्म लागेर आउँछ ।”

काँकडभिट्टामा सुविधासम्पन्न आधुनिक थिएटर बनाउन परिवर्तन थिएटरले पहल गरेको आधा दशक बितिसक्यो । तर, अहिलेसम्म थिएटरले जग्गा र दाता भेटेको छैन । नगरपालिकाले पनि सहयोग गरेको छैन ।

“मेची सामुदायिक भवनको एउटा हललाई सजावट गरेर कामचलाउ थिएटर कक्ष बनाएका छौं,” परिवर्तन थिएटरकी अध्यक्ष कविता नेपालले भन्नुभयो–“कोरोना महामारी पछि नाटक मञ्चनमा केही शिथिलता आएको थियो । अहिले फेरि नयाँ नाटक देखाउन थालिसकेका छौं ।”

उहाँले आफ्नै थिएटर भवन बनाउन आर्थिक सहयोगको आह्वान गरे तापनि सहयोग नपाउँदा नमज्जा लागिरहेको बताउनुभयो ।

झापाका नाट्यकर्मीहरुको सिर्जनात्मक क्षमता अन्तराष्ट्रिय स्तरको भएको नाटक ‘म्लेच्छ’ हेर्नु भएको मेचीनगर–६ काँकडभिट्टा निवासी शंकर भट्टराई बताउनुहुन्छ । कला, साहित्य, पत्रकारिता, खेलकुद जस्ता क्षेत्रमा राज्यले मुठ्ठी खोलेर सहयोग गर्नुपर्ने उहाँको सुझाव छ ।

(फोटो : विनोद सापकोटा)