२१ वैशाख २०८१, शुक्रवार

खोजमूलक पत्रकारितामा फेलोसिप दिन ‘नेजा’ इच्छुक

५ कार्तिक २०८०, आइतवार
Image

झापा, ४ कात्तिक । नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुरज भण्डारीले नेपालमा खोजमूलक पत्रकारिताको विकासका लागि लेखनवृत्तिको व्यवस्था गर्न ‘नेजा’ इच्छुक रहेको बताउनु भएको छ ।

पत्रकार मञ्च दमकद्वारा झापामा आयोजित कार्यक्रममा बोल्दै उहाँले उक्त जानकारी दिनुभएको हो । कसरी लेखनवृत्ति वितरण गर्ने भन्ने बारेमा नेपाल पत्रकार महासंघसँग छलफल चलिरहेको उहाँले बताउनुभयो ।

‘नेजा’ले एक दशक अघिदेखि नेपाल पत्रकार महासंघसँग सहकार्य गरेर हरेक दुई वर्षमा नेजा उत्कृष्ट ग्रामीण पत्रकारिता पुरस्कार वितरण गरिरहेको छ । 

“ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गरिरहनु भएका पत्रकारहरुलाई पुरस्कृत गर्ने हाम्रो कार्यक्रम जारी छ,” उहाँले भन्नुभयो–“तर, खोजमूलक पत्रकारितालाई प्रोत्साहित गर्न अब सातै प्रदेशमा लेखनवृत्ति वितरण गरिनु आवश्यक छ भन्ने निष्कर्षमा हामी पुगेका छौं ।”

अमेरिकामा सिटी पत्रकारिता फस्टाएको र त्यसका लागि राज्यको स्थानीय निकायले भरपूर सहयोग पुर्याउने गरेको चर्चा गर्दै नेपालमा त्यसको विपरीत संघीयतापछि समेत स्थानीय सञ्चारमाध्यमहरुले स्थानीय सरकारबाट उपेक्षा व्यहोरिरहेको गुनासो आइरहेको बताउनुभयो ।

प्रविधिको विकास र सामाजिक सञ्जालको द्रुत प्रयोगले पत्रकारिताका चुनौति थपिएको उहाँको धारणा थियो । समाजलाई सही सूचना दिने आधिकारिक सञ्चारमाध्यमको अझै पनि खाँचो देखिएको हुँदा पत्रकारिताका अवसरहरु पनि प्रशस्तै रहेको उहाँले बताउनुभयो ।

नेजाले नेपाली पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने र गम्भीर रोग लागेर विरामी भएका बेला उपचारमा सघाउने कार्य अहिले गरिरहेको उहाँले बताउनुभयो । अरु कस्तो सहयोग पुर्याउन सकिन्छ भनेर नेपाल पत्रकार महासंघसँग छलफल चलिरहेको उहाँले जानकारी दिनुभयो ।


यसैबीच, झापाको नारी सञ्चार गृहले नेपाली महिला पत्रकारहरुलाई पत्रकारितामा टिकाइरहन नेजासँग सहयोगको माग गरेको छ ।

नारी सञ्चार गृहकी अध्यक्ष रेजिना रोदनले आजै ‘नेजा’का अध्यक्ष भण्डारीलाई दमकमा मागपत्र दिनुभयो । गौतमले हाल महिलालाई पत्रकारितामा टिकाइरहन क्षमता अभिवृद्धि र प्रोत्साहनका लागि नारी सञ्चार गृहले अक्षय कोष स्थापना गरेको जानकारी गराउनु भएको थियो ।