२१ वैशाख २०८१, शुक्रवार

बैशाखी टेकेर कपाल काट्दै जीविका चलाउँछन् बुद्ध

६ कार्तिक २०८०, सोमवार
Image

झापा, ६ कात्तिक । बुद्धशान्ति गाउँपालिका वडा नं. ६ का बुद्ध तामाङलाई १७ वर्ष अघि २३ वर्षे तन्नेरी उमेरमै हड्डीको क्षयरोग (बोन टीबी) संक्रमण भयो । तैपनि बुद्धको आत्मविश्वास डगमगाएन ।

रोगले गाँज्दै लग्यो । उहाँका कम्मर मुनि दुबै खुट्टा चल्न छाडे । जीवनको धरा नै हल्लाउने यी दुःखद् अवस्थाबाट उहाँ बिचलित हुनुभएन । वैशाखी र आत्मविश्वासमा टेकेर आफ्नै खुट्टामा उभिने क्रममा उहाँ गाउँमा कपाल काट्ने शैलुन खोल्न सफल हुनुभयो ।

शारीरिक अपांगता र बोन टीबीसँग जुधिरहनु भएको उहाँले चार वर्षदेखि बुद्धशान्ति–६ स्थित आफ्नै गाउँ सन्तपुरमा कपाल काट्ने शैलुन खोल्नु भएको छ । उहाँ दैनिक १५ देखि २० जनासम्म ग्राहकको कपाल बैशाखी टेकेरै काट्नु हुन्छ । बुद्धको दाजु पनि शारीरिक अपांग हुनुहुन्छ । परिवार धान्नुपर्ने जिम्मेवारी पनि बुद्धकै काँधमा छ ।

अपांग र बिरामी भएर पनि स्वावलम्बनका लागि बुद्धले देखाएको साहस र शीप देखेर मानिसहरु चकित छन् । “धेरै अपांगहरु सडकमा मागेर जीवन धान्न बाध्य भइरहेको देखिन्छ,” बुद्धशान्ति वडा नं. ६ का अध्यक्ष शिवराज पौडेल भन्नुहुन्छ–“तर, बुद्धले शीप सिकेर आफ्नै पौरखमा जिउने जुन साहस देखाउनु भएको छ, त्यसको जति प्रशंसा गरे पनि कम नै हुन्छ ।”

वि.सं. २०४० सालमा झापाकै शान्तिनगरमा जन्मनु भएको उहाँलाई २०६३ सालमा क्षयरोग पुष्टि भएको थियो । खुट्टाको हड्डीमा पीडा हुन थालेपछि जँचाउन धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाँदा चिकित्सकहरुले क्षयरोग लागेको जानकारी दिएका थिए । गरीवीका कारण कक्षा ४ भन्दा बढी शिक्षा उहाँले लिन पाउनु भएन । उहाँको विवाह भएको छैन ।

“रोग लागिहाल्यो भनेर मैले हरेश खाइन,” उहाँ भन्नुहुन्छ–“उपचारसँगै जिउनका लागि उपायहरु खोज्न थालेँ । सुरुमा मोवाइल र टिभी बनाउन सिके । केही समयपछि कपाल काट्न सिकेँ ।” अहिले आफ्नै गाउँ सन्तपुर चोकमा उहाँको व्यवस्थित शैलुन छ ।

कम्मरमुनिका अंगहरु नचले पनि उहाँको हात र दिमाग तेजसँग चल्छ । वडा कार्यालयले शैलुन खोल्न रु. ७५ हजार सहयोग गरेको वडाध्यक्ष पौडेलले बताउनुभयो । वडा कार्यालयले दिएको सहयोगमा ऋणपान थपेर व्यवस्थित शैलुन सञ्चालन गर्न सकेको बुद्ध बताउनुहुन्छ ।

स्थानीय शिक्षक योेगेन्द्र चम्लागाईले कपाल काट्ने राम्रो शीप भएकाले बुद्धको शैलुनमा गाउँका बसै मानिस कपाल काट्न आउने गरेको बताउनुहुन्छ । “अपांग र विरामी हुनुहुन्छ, जीविकाका लागि मदत पुगोस् भनेर स्थानीयले सहानुभूति पनि राख्नुभएको छ” –उहाँ भन्नुहुन्छ । 

सुरुमा बुद्धले गाउँमा टिनको बेरा लगाएर सानो टहरो हालेर शैलुन सुरु गर्नुभएको थियो । अव्यवस्थित रुपमा वैशाखी टेकेरै कपाल काटेको दयनीय अवस्था देखेर नै वडा कार्यालयले उहाँलाई व्यवस्थित शैलुन बनाउन आर्थिक सहयोग गरेको हो ।

“अपांग भएर बाटोमा हात फैलाउन मलाई मन लागेन, त्यही भएर कपाल काट्ने पेशा सुरु गरेको हुँ,” गाउँका उदाहरणीय युवाको रुपमा पहिचान बनाउनु भएको बुद्धले भन्नुभयो–“खान र लाउन यही शैलुनको आम्दानीले पुगेकै छ । बोन टिबीको राम्रो उपचार गर्न आर्थिक अभाव छ । कतैबाट उपचारको सहयोग पाए लिनेथिएँ ।”

(फोटो : चन्द्र भण्डारीको फेसबुकबाट)