१८ असोज २०८१, शुक्रवार

गजाधरसँग पत्रकार काजीको सम्बाद

९ कार्तिक २०८०, बिहिवार
Image

जो कोहीलाई ससुराली घर भनेपछि आफू जन्मेको घरपछिको सुन्दर घर हो भन्ने लाग्छ । ससुराली घर बनाउनका लागि कल्पना गरौं त के–के थोक गर्नुपर्ने हुन्छ ? अनि ससुराली भएपछि ज्वाईलाई हेर्ने दृष्टिकोण र सालासाली, आफन्त र छरछिमेकीले गर्ने व्यवहार कति सुन्दर र आनन्दित हुन्छ । 

त्यही कल्पना गरेर धेरै वर्षपछि भारतको आसामबाट दशैं छेक पारी गजाधर जेठा लुरुलुरु नेपाल आउँछन् । ससुरालीमा ल्याउने कोसेली र सासु ससुरा, सालासालीलाई दिने आसामे कपडाको भारी बोकेर मन बिसाउन र भेटघाट गर्न मेची बोर्डर तर्दै गरेका बेला मेचीनगरका रैथाने पत्रकार काजीले बाटैमा भेटेर स्वागत गर्छन् र भन्छन्, ‘खुलुमाई छ है भिनाजु !’

गजाधर पनि मुसुक्कै हाँसेर ‘ओहो ! खुलुमाई’ भन्दै ठिङ्ग उभिन्छन् । (मेचे भाषामा खुलुमाई भनेको अभिभादन हो ।)

लामो सास तान्छन् अनि भन्छन्, ‘के छ नि नेपालको गतिविधि काजीबाउ ?’ गजाधरको प्रश्न तेर्सिएपछि काजी बाउले बेलीविस्तारा लगाउँछन् । भिनाजु तपाईहरुको हिंड्ने बाटो छेकेर हैरान गरेका छन् । सुरक्षित स्थानको लागि कुनै ठाउँ बनाइदिएका छैनन् । सरकारी बजेट ल्याए, त्यतिकै सिध्याए । नाम चाहिँ तपाईहरुको बेचेका बेचेकै छन् । स्थानीय होस् या आम चुनावमा होस् तपाईहरुको नाम उल्लेख गरेर यहाँका नेताहरुले विजय प्राप्त गरेका छन् । तर, तपाईहरुको सेवा, सुरक्षा र सुविधामा कुनै चासो देखाएका छैनन् । 

बढी उपद्रो गरेर अस्ती बुद्धशान्ति, मेचीनगर अनि अर्जुनधाराको बगरमा तपाईहरुको सन्तान बिरामी भएर लडेछन् । त्यतिमात्र होइन भिनाजु तपाईहरुका केटाहरुलाई पनि सम्झाउनु पर्यो है... साह्रै उपद्रो गर्छन् ।

बुद्धशान्तिका एक चेली स्कुटरमा आफ्नो घर जाँदै गर्दा बाटैमा हिर्काएर यमलोक पुर्याएका छन् । बुधबारेका एक वृद्ध बालाई लखेट्दै लडाए । जलथलमा गाईवस्तु सार्दै गरेका बाबुछोरीलाई खेदी खेदी पछारे । त्यसैले गर्दा झापाका मान्छेहरु तपाईहरुसँग साह्रै बिच्केका छन् र रिसाएका पनि छन् । काजीले फेरि प्रश्न गरे, ‘हजुरको ससुराली कुन ठाउँमा पो ? मैले त बिर्सेनी !’

‘कहाँ भन्नु काजीबाउ डबल सुब्बाको गाउँदेखि छिर्ने जुकेखाडी वनभित्रको दमार भन्ने ठाउँमा त हो नि !’

ए... ए... ए... अनि त्यहाँ पनि त कृषक दाजुभाईको अन्न बाली नष्ट गरेर हैरान पारेका छन् । त्यति मात्र कहाँ हो र एक नाबालक सुब्बा थरकी १३ वर्षीया नानीलाई पिटेछन् । महंगो अस्पतालमा उपचार गराएर अहिले ती नानी घर फर्किएकी छिन् । यति सारो उपद्रो गरेपछि अब हजुरहरुलाई नेपाल, भारत आवतजावतको लागि भिसा निर्माण गर्ने भन्ने हल्ला सुन्दैछु ।

‘ए ! त्यसो पो गर्ने रे ? हाम्रो पीडा चाहिँ कसले सुनिदिने अनि बुझिदिने त काजीबाउ ?’ त्यतिकैमा काजीबाउले प्रतिप्रश्न गरे, ‘कस्तो पीडा भिनाजु ?’

यसो सोल्टीको देश नेपाल भनेर घुम्न आएका हाम्रा केटाहरुको कसैको आँखा नै छैन, शरीरभरी निलडाम छ, कसैलाई पुच्छर तानिदिएर लिँडे बनाएका छन्, कसैको शरीरभरी भाला, खुकुरी प्रहार भएको छ, कसैले त शरीरभरी गोली बोकेर फर्केका छन् । त्यति मात्र हो र काजीबाउ पर्यटन वर्ष २०२० मनाउन नेपाल छिरेकाहरुलाई निलकण्ठ तिवारीको गाउँमा छेकेर कुटिकुटि मारेका रहेछन् । अब तपाईहरु पत्रकार हाम्रा पीडा चाहिँ किन कोर्नु हुन्न ? के हामी अनागरिक हुँदैमा हामीमाथि गरिने दुव्र्यवहार चाहिँ समाचार बन्न सक्दैन ? मैले सुनेको छु, कान्तिपुर टिभीका पत्रकार गणेशजी नामले हाम्रै खलकमा जोडिए पनि हाम्रा पीडा देखाउँदैनन्, अर्का भिजन रेडियोका भाई गणेशजी पनि झापामै छन् रे ! तिनले पनि हाम्रा दुःख, पीडा कहिल्यै झापाली जनतालाई सुनाएनन् । 

ए काजीबाउ ! भद्रपुरमा एक जना पुराना पत्रकार नकुल काजी नाम गरेका व्यक्ति हुनुहुन्थ्यो के गर्दै हुनुहुन्छ ? उहाँले विवेचना नाम गरेको पत्रिकामा हाम्रा विषयमा खुब समाचार लेख्नु हुन्थ्यो । शनिश्चरेतिरका एक जनता सेता बाघले परिचित केशवकुमार बुढाथोकी नाम गरेका नेता थिए । उनले ३६, ३७ सालतिर यसरी नै नेपाल घुम्न आउँदा बुधबारे, शान्तिनगर र अर्जुनधाराका जनतालाई उचालेर हामीलाई खुब लखेटेका थिए । उनी के गर्दैछन् ? उनको राजनीतिक जीवन कस्तो छ ? एसएल शर्मा, मोहनलाल अग्रवाल, डिल्लीराम दाई त बित्नु भएछ । साहित्यकार डिकमान, अमृतलाल, मदन ढकाल पनि बितेछन् । ए... गोपीकृष्ण, तेराखले पनि धर्ती छाड्नु भएछ भन्ने कुरा सुने । काँकरभिट्टाका कृष्ण उप्रेती, पुण्य खरेल र रामचन्द्रहरु के गर्दैछन् ?

गजाधर जेठाका यतिका प्रश्न आएपछि काजीले मनमनै सम्झिए, हैन यी भिनाजु त निकै पाका पो रहेछन् । झापाका सबैलाई चिन्दा रछन् । यतिकैमा भिनाजु बोल्नुभयो, ‘हैन केमा अलमलिनु भयो हौ काजीबाउ ?’ 

झसंग हुँदै हैन.. हैन.. भिनाजु ! नकुल दाई सादगी जीवन बिताउँदै पुस्तक प्रकाशन गरेर बस्नु भएको छ । केशव दाई कांग्रेसका नेता हुन् । मन्त्री भइसके । अरु त तपाईलाई थाहा नै रहेछ । कृष्ण, पुण्य सरहरु साहित्यमा नै व्यस्त हुनुहुन्छ । रामचन्द्र दाई र म चाहिँ भर्खरै कणाली प्रदेशको जनजीवन अवलोकन गरेर घर आइपुगेका छौं । 

‘अनि भिनाजु एउटा प्रश्न राखौं’, गजाधरले टाँउको हल्लाउँदै अनुमति दिए । कति सालमा तपाईको विवाह भएको हो ? दिदीसँग कहाँ भेट भएको थियो ? भान्जा भान्जी कत्राकत्रा छन् ?

काजीको प्रश्न तेर्सिएपछि गजाधर अध्याँरो अनुहार बनाउँदै उत्तर दिन कन्जुस्याँई गरे । बोल्न चाहेनन् । सकेनन् पनि । काजीले फेरि प्रश्न गरे, ‘के भयो भिनाजु, किन मन अँध्यारो पार्नुभयो ?’ त्यति नभन्दै गजाधर जेठाको आँखाबाट तपतप आँसु चुहियो । खुई मार्दै बस्न पुगे । 

काजीको एकोहोरो प्रश्नमा गजाधरले भन्न बाध्य भए । नेपालको ३६, ३७ सालतिर हुनुपर्छ । हामी बसेको आसाममा ब्रम्हापुत्रको पानी बढेर आएपछि त्यहाँ बस्न सकेनौं र नेपाल आएका थियौं । करिब दुई, तीन सय जति थियौं होला । नक्सलबाडी हुँदै मेचीको सिरान बाहुनडाँगी प्रवेश गरेका थियौं । प्रवेश गर्दा नेपाली जनतालाई केही नगरौं भनेर सल्लाह मुताबिक आएका थियौं । बाहुनडाँगीमा हामीलाई बस्न नदिएपछि बुधबारे, शान्तिनगर, अर्जुनधारा हुँदै कोशी टापुतिर लाग्यौं । अर्जुनधाराको दमारमा हाम्रा रैथाने खलकहरु हुनुहुँदो रहेछ । त्यहाँ तिम्रा दिदीसँग भेट भयो । केशव दाईले झापाली जनता उरालेर हामीलाई लखेट्दा दमारका साथीहरु पनि भाग्न बाध्य भए । त्यही भगाईमा दिदीसँग हिमचिम भयो । पछि हामी पुनः आसाम लाग्यौं । तिम्रा दिदीलाई पनि उतै लगें । भान्जा भान्जी भए । उतै हुर्किए । एक साल तीजको पर्व नजिकिदै थियो । तिम्री दिदीले यतिका वर्ष भयो माइती नगएको यसपालिको तीजमा म त माइती देश जान्छु भनेर कचकच गरिरहिन् । मैले भने, अहिले समय ठीक छैन नजाउ अलिक शान्त भएपछि जानु, तर तिम्री दिदीले मानिनन् । धेरै कचकच गरेपछि माइत पठाए । माइती राजाहरुलाई कोसेली बोकेर उज्यालो अनुहार बनाउँदै छोराछोरी सहित आएकी थिइन् । यही मेचीनगरकै सतिघट्टा भन्ने ठाउँमा घेराबन्दी गरेर राखेछन् । धेरै दिन घेराबन्दी गरेपछि भान्जाभान्जी भोकाउन पुगे । घेरा तोड्न खोज्दा तीर, भाला प्रयोग गरेर मेरो सन्तान सिध्याइ दिए । आँखाबाट आँसु झार्दै गजाधर भक्कानिए । 

करिब ५, १० मिनेट भक्कानिए पछि सुकसुक गर्दै भने, ‘काजीबाउ उमेर पनि ढल्किदै गयो । यसो दशैं आएको बेला ससुराली सम्झेर आएको नि !’

(यो लेख यलम्बर टाइम्स साप्ताहिकको दसैं विशेषांकबाट साभार गरिएको हो । सम्पादक दिपीन राईले लेख्नु भएको यो लेख स्वैरकल्पनामा आधारित छ । लेखले हात्तीको संरक्षणको सन्देश दिएको छ । पात्रहरु कहिँ कसैसँग मिल्न गएमा संयोग मात्र मानिदिनु होला ।)

लेखकको बारेमा
Image
दिपीन राई

तीन दशकदेखि ग्रामीण पत्रकारितामा क्रियाशील पत्रकार दिपीन राई यलम्बर टाइम्स साप्ताहिकका प्रधान सम्पादक हुनुहुन्छ ।