२७ वैशाख २०८१, बिहिवार

सहमतिको आधारमा मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

१२ कार्तिक २०८०, आइतवार
Image

झापा, १२ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबै राजनीतिक दलको सहमतिका आधारमा मन्त्रिपरिषद् विस्तार हुने बताउनु भएकोे छ । सहमतीय सरकार सञ्चालनको पहल गर्दा मन्त्रिपरिषद् विस्तारमा समेत ढिलाई भइरहेको उहाँको भनाई छ ।

झापाको विर्तामोडमा अन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशन समारोहलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा सहमतीय मन्त्रिपरिषद् विस्तार हुने स्पष्ट पार्नुभयो ।

“मन्त्रिपरिषद् विस्तारमा किन ढिलो भइरहेको होला भन्ने लागेको होला,” उहाँले भन्नुभयो–“अहिलेको सरकारलाई जन्म दिने र कर्म दिने सबैलाई सहमतिमा ल्याउनु पर्ने जिम्मेवारी आएको छ । त्यसैले मन्त्रिपरिषद् विस्तारमा ढिलो भइरहेको हो ।”

उहाँले अब मन्त्रिपरिषद् छिट्टै हुने पनि बताउनुभयो । राजनीतिक दलहरुलाई मिलाएर कोशी प्रदेशको समृद्धिका लागि सँगसँगै लैजाने आफ्नो उद्देश्य रहेको उहाँले बताउनुभयो । अहिलेको कोशी प्रदेश सरकार बलियो भएको र अब सरकार कहिले ढल्ला भन्ने बिगतको जस्तो चिन्ता गरिरहनु नपर्ने उहाँको भनाई थियो ।

गत असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको कार्कीले असोज २८ गते दुई जना मन्त्री नियुक्त गर्नुभएको थियो । त्यसपछि मन्त्रिपरिषद् विस्तार भएको छैन । नेपाली कांग्रेसका शमशेर राई र नेकपा एमालेका रामबहादुर राना मगरलाई उहाँले मन्त्रि नियुक्त गर्नु भएको हो ।

समृद्धिका लगानी लगानी गर्न आह्वान

मुख्यमन्त्री कार्कीले अन्तर्राष्ट्रिय झापाली समाजलाई कोशी प्रदेशको समृद्धिका लागि योजनासहित लगानी भित्राउन आह्वान गर्नुभएको छ ।

विदेशमा रहनु भएको नेपालीहरुको शीप, प्रविधि र लगानी भित्राउन प्रदेश सरकार आतुर रहेको धारणा व्यक्त गर्दै उहाँले लगानीमैत्री कानूनी सहजिकरणका लागि जुनसुकै पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

“कस्तो कानून चाहिन्छ, कस्तो वातावरण चाहिन्छ, हामी त्यसका लागि जुनसुकै पहल गर्न तयार छौं,” मुख्यमन्त्री कार्कीले भन्नुभयो–“कोशी प्रदेशलाई विकासको नमुना बनाउने हाम्रो सोच छ । तपाई झापालीहरुले यसको नेतृत्व लिनुहोस् ।”

उहाँले अन्तर्राष्ट्रिय झापाली समाजले मातृभूमिका गरिरहेको रचनात्मक कार्यको प्रशंसा गर्दै लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक छलफलका लागि आमन्त्रण गर्नुभयो ।

नयाँ कार्य समिति गठन

समाजको विर्तामोडमा आज सम्पन्न चौथो महाधिवेशनले मुकुन्द ढुंगानाको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत गठन गरेको छ ।


समितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र चम्लागाई, उपाध्यक्षद्वयमा भुपाल सिटौला र चुडामणि कार्की, महिला उपाध्यक्षमा शर्मिला बस्नेत, महासचिवमा नबिन पोखरेल, सचिवमा रबिन गिरी लगायत चयन हुनुभएको छ ।

सन् २०१७ मा गठन भएको समाजको यसअघि भवानी ओली, दिनेश पोखरेल, छत्र सुब्बा र दिपक ओलीले नेतृत्व गरिसक्नु भएको छ ।

संसारभर छरिएर रहेका प्रवासी झापालीहरुको छाता संगठनको रुपमा समाजले काम गर्दै आएको छ । संस्थाले कम्पनी बनाएर नेपालमा कृषि, जलविद्युत लगायतको क्षेत्रमा लगानी गर्ने नीति लिएको छ भने हालसम्म झापामा पाँच वटा एम्बुलेन्स सहयोग गरिसकेको महासचिव नविन पोखरेलले बताउनुभयो ।