४ जेठ २०८१, शुक्रवार

पर्यटकीयस्थल चिल्लागढमा महागुरु फाल्गुनन्दको पूर्णकदको शालिक

१३ कार्तिक २०८०, सोमवार
Image

झापा, १३ कात्तिक । प्रसिद्ध कनकाई नदीको किनारमा अवस्थित चिल्लागढ धाममा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको पूर्णकदको शालिक निर्माण भएको छ ।

शालिक निर्माण भएको स्थान झापाको शिवसताक्षी नगरपालिका वडा नं. ९ मा पर्दछ । हिन्दू र बौद्ध धर्मावलम्बीहरुको मठमन्दिरले सजिएको कनकाई धार्मिक क्षेत्र अब किराँत धर्मावलम्बीहरुको पनि तीर्थस्थल बनेको छ ।

चिल्लागढ धाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष शिशिर तुम्बापोका अनुसार उक्त शालिक रु. ५० लाखको लागतमा निर्माण भएको हो । महागुरु फाल्गुनन्दको १३९ औं जन्मजयन्तीका अवसरमा यही कात्तिक २५ गते शालिकको विधिवत् उद्घाटन गरिने उहाँले जानकारी दिनुभयो ।

किराँत धर्म गुरुबाट फाल्गुनन्दको शालिक अनावरण गरिने किराँत धर्म साहित्य उत्थान संघ केन्द्रीय अध्यक्ष डिकेन्द्र सिंह थेगिमले जानकारी दिए । किराँत महागुरु फाल्गुनन्दको अहिंसा र विश्व मानव जगतको शान्तिका लागि पुर्याउनु भएको सन्देशलाई कदर गर्दै शालिक निर्माण र जन्मजयन्ती समारोहको आयोजना गरिएको उहाँले बताउनुभयो ।

शिवसताक्षी वडा नं. ९ का अध्यक्ष डिल्लीलाल फेम्बुले चिल्लागढ धाम किराँत र हिन्दू दुबै धर्मावलम्बीको साझा तीर्थस्थलको रुपमा विकास भइरहेको र यहाँ पर्यटकीय पूर्वाधारको निर्माणमा समेत पालिकाले जोड दिइरहेको बताउनुभयो । उहाँका अनुसार धाम क्षेत्रमा माता मन्दिर, शिवालय, पोखरीमा, राम सीता मन्दिर, किरात माङहिम (मन्दिर) लगायतका मठमन्दिर रहेका छन् ।

अढाई बिगाहा क्षेत्रफलमा फैलिएको चिल्लागढ धामको माझमा कमलको फूल फूल्ने एउटा आकर्षक पोखरी छ । गत आर्थिक वर्षमा नगरपालिकाले चिल्लागढ क्षेत्रका मठमन्दिर निर्माण र पर्यटकीय पूर्वाधार विकासका लागि रु. १५ लाख खर्च गरेको वडाध्यक्ष फेम्बुले बताउनुभयो ।

पौराणिक किम्बदन्ती अनुसार द्वापरयुगमा राम र लक्ष्मणले १४ बर्ष बनबास बस्ने क्रममा अन्तिम एक बर्ष हालको चिल्लागढ क्षेत्रमा बिताएर विभिन्न यज्ञ अनुष्ठान गरेका थिए । चिल्लागढको पोखरीमा महाभारतकालमा विराट राजाका गाईवस्तुलाई पानी खुवाउने गरिएको पनि किम्बदन्ती रहेको छ ।