२३ वैशाख २०८१, आइतवार

मानव आश्रमद्वारा सडकबाट सयौंको उद्धार

१५ कार्तिक २०८०, बुधवार
Image

झापा, १५ कात्तिक । मानव सेवा आश्रमले दुई सातामा १३० जना सहयोगापेक्षी सडक मानवको उद्धार गरेको छ । पूर्वीनाका काँकडभिट्टाबाट गत असोज २७ गते आश्रमले ‘चाडपर्वमा कोही नरहुन् सडकमा’ भन्ने नाराका साथ ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु गरेको थियो ।

आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार कोशी प्रदेशबाट ४६ जना, मधेश प्रदेशबाट ४७ जना, बागमती प्रदेशबाट १० जना र गण्डकी प्रदेशबाट नौ जना सडक मानवको उद्धार गरेर आश्रममा राखिएको छ । अहिले उद्धार टोली लुम्बिनी पुगेको छ । लुम्बिनी प्रदेशबाट हालसम्म १८ जनाको उद्धार भइसकेको उहाँले जानकारी दिनुभयो ।

एम्बुलेन्ससहितको उद्धार टोलीले राजमार्ग र आसपासमा अलपत्र अवस्थामा रहेका खासगरी वृद्धवृद्धा, मानसिक असन्तुलन भएका व्यक्ति र परिवारविहीनहरुलाई खोजी खोजी नुहाइधुवाई गरेर आश्रममा लैजाने गरेको छ । उद्धार भएकाहरुमा ३६ जना महिला र चार जना बालबालिका रहेका छन् ।

गत असोज २७ गते झापाको काँकडभिट्टामा प्रसिद्ध गायिका आनी छोइङ डोल्मा र मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले दीप प्रज्ज्वलन गरेर ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा’को शुभारम्भ गर्नुभएको थियो । आनी छोइङ डोल्मा फाउन्डेसन र मानव सेवा आश्रमले संयुक्त रुपमा अभियान सञ्चालन गरेका छन् ।

मुलुकका ४६ जिल्लामा अभियानलाई पुर्याएर आगामी मंसिर ४ गते यात्रा समापन गरिने अध्यक्ष अधिकारीले बताउनुभयो । विभिन्न कारणले सडकमा पुगेर भौतारिरहेका सहयोगापेक्षी मानवहरुको उद्धारका लागि आश्रमले विगत वर्षहरुमा समेत देशव्यापी अभियान चलाउँदै आएको छ ।

सडक मानवको उद्धारका लागि स्थानीय पालिका, प्रशासन र सामाजिक संस्थाहरुसँग आश्रमले सहकार्य गरेको छ । सडकबाट उद्धार गरिएका व्यक्तिहरुलाई नुहाउन, नयाँ लुगा लगाइदिन, पेटभरि खाना दिन र चोटपटकको उपचार गरिदिनका लागि आश्रमले स्वयम्सेवकहरु परिचालन गरेको छ ।

आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक एवम् गायिका आनी छोइङ डोल्मा आफै उद्धार कार्यमा खटिनुभएको छ । उहाँले रोग र भोकले बिरामी भएका सडक मानवहरुलाई नुहाइदिनु भएको छ । 

अभियान क्रममा अभिभावक गुमाएर सडकमा पुगेका असहाय बालबालिकादेखि सर्वांग नांगो अवस्थामा जंगलमा वेवारिसे महिलासम्मको उद्धार गरिएको मानव सेवा आश्रमले जनाएको छ । उद्धार गरिएका अधिकांश व्यक्तिलाई शीघ्र उपचारको खाँचो देखिएको छ ।


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।