३१ असार २०८१, आइतवार

फाल्गुनन्द सम्झना

मदिरा र मासु नखानु भन्ने ९२ वर्षअघिको धर्ममुचुल्का

२७ कार्तिक २०८०, सोमवार
Image

झापा, २ कात्तिक । किराँत धर्मका महागुरु फाल्गुनन्दले ९२ वर्ष अघि नै सामाजिक कुरीति र विकृति हटाउने उद्देश्यले काटमार, मांसाहार र मदिरा सेवन गर्न नहुने भनी धर्ममुचुल्का गराउनु भएको थियो । 

महान समाज सुधारकको रुपमा परिचित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३९ औं जन्मजयन्ती आज विश्वभर धुमधामका साथ मनाइएको छ । नेपाल सरकारले वि.सं. २०६६ मङ्सिर १६ गते उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

उहाँको जन्म वि.सं. १९४२ कात्तिक २५ गते इलामको वत्र्तमान माङ्सेबुङ गाउँपालिका वडा नं. २ इभाङको चुम्चिनाम्बा भन्ने स्थानमा भएको थियो । वि.सं. २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथर जिल्लाको इम्बुङमा उहाँले नश्वर शरीर त्याग गर्नु भएको थियो ।

फाल्गुनन्दको जन्म अति गरीव परिवारमा आमा हंशमति र बुवा जगनबाज लिम्बुको कोखबाट साहिला सन्तानको रुपमा भएको थियो । उहाँ ८ वर्षकै उमेरमा ज्ञानी र ध्यानी हुनु भएको थियो । न्वारानको नाम नरध्वज लिङ्देन भए पनि उहाँ बेलायती फौजमा फाल्गुनन्दको नामबाट भर्ती हुनु भएको थियो । बेलायती सेनामा केही वर्ष काम गरेपछि फाल्गुनन्दले युद्धप्रति वितृष्णा जागेको भन्दै सेनाको जागिर त्यागिदिनु भएको थियो । जागिर छाडेर उहाँ अहिंसा र किराँत धर्मको प्रचार गर्दै नेपाल, भारत र भूटानसम्म पुग्नु भएको थियो ।

किराँत धर्म तथा साहित्य उत्थान सङ्घका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमका अनुसार किराँत धर्मावलम्बीहरुले उहाँलाई पृथ्वीलोकमा धर्म प्रचार र मुक्तिका लागि ईश्वरीय प्रतिनिधि (देवदूत)को रुपमा सम्मान गर्दछन् ।

उहाँका अनुसार महागुरु फाल्गुनन्दले वि.सं. १९८८ बैशाख २५ गते दश लिम्बु र १७ थुमका अगुवा व्यक्तित्वहरुलाई पाँचथरको लेबे्रकुटीमा एकत्रित गराएर ‘सत्य हाङ्मा मुचुल्का’ गराउनु भएको थियो । उक्त दशबुँदे मुचुल्कालाई फाल्गुनन्दको धार्मिक सन्देशको रुपमा मानिन्छ । तत्कालीन लिम्बुवान क्षेत्रका सबै अग्रजहरुले सहीछाप गरेको उक्त मुचुल्का नौ हात लामो काँचो कागजमा लेखिएको र त्यसको प्रतिलिपी सुरक्षित राखिएको थेगिम बताउनुहुन्छ ।

बयानब्बे वर्ष अघिको समाजमा धर्म र संस्कारको अहिलेको तुलनामा ज्यादै धेरै महत्व थियो । तथापि किराँती समुदायमा जन्म, मृत्यु, विवाह र उत्सवहरुमा भेला हुँदा अत्याधिक मदिरा र मासु खुवाउने उसबेलै चलन थियो । पशुको काटमारले मानिसमा हिंस्रक प्रवृत्ति र मदिराको अधिक प्रयोगले विकृति बढ्ने महागुरुले निष्कर्ष निकाल्नु भएको थियो ।  

सामाजिक रीति र संस्कारमा मदिरा, बली र तडकभडक हटाउन सहज थिएन । त्यहीकारण महागुरुले किराँत समुदायका अग्रजहरुलाई लेब्रेकुटी भेलाको आयोजना गर्नु भएको थियो । भेलाका सबै सहभागीले धर्म मुचुल्कामा राजी भएर सहीछाप गरेका थिए । 

महागुरु किराँती बेद ‘मुन्धुम’को ज्ञाता हुनुहुन्थ्यो । किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिनु हुने फाल्गुनन्दले प्रतिपादन गर्नु भएको धर्म मुचुल्कामा किराँतीहरुले मासु र मदिरा खान नहुने, छोरीलाई छोरासरह समान शिक्षा र अधिकार दिनु पर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गर्नु पर्ने, विहे रीतको नाममा सम्पत्ति तथा दाम लिनदिन नहुने, स्वदेशी कपडा प्रयोग गर्नु पर्ने, सिरिजङ्गा लिपी प्रचलनमा ल्याउनु पर्ने लगायतका सामाजिक सुधारका नीतिहरु समावेश भएका छन् । नारी जातिलाई पुरुष समान अधिकार र सम्मान दिनु पर्ने उहाँको सन्देश लैङ्गिक समानताका लागि उल्लेखनीय योगदान मानिन्छ । किराँती समुदायमा आज पनि महिला सशक्तिकरणको अवस्था सराहनीय रहेको छ ।

महागुरु फाल्गुनन्दको सम्मानमा नेपाल सरकारले वि.सं. २०५० मा रु. १५ को हुलाक टिकट प्रकाशित गरेको थियो । वि.सं. २०७२ देखि फाल्गुनन्द जन्म जयन्तीको अवसरमा सरकारले किराँत धर्मावलम्बीका लागि विदा दिन थालेको हो ।

झापाको दमक, शिवसताक्षी र अर्जुनधारा, इलामको माङ्सेबुङ, चुलाचुली, पाँचथरको फिदिम, ताप्लेजुङको फक्ताङलुङ लगायतका पालिकाहरुले आज कात्तिक २५ गते फाल्गुनन्द जयन्तीको अवसरमा विगतदेखि नै सार्वजनिक विदा दिने गरेका छन् । मुलुकभित्र र बाहिर फाल्गुनन्दको सयौ शालिक स्थापना भइसकेका छन् ।

विश्वबन्धुत्व र अहिंसाका महान तपस्वी किरात धर्मगुरु फाल्गुनन्दको धार्मिक सन्देशलाई विश्वभर फैलाउने कार्यमा उहाँका नाति धर्मगुरु आत्मानन्द लिङ्देनले हाल अगुवाई गरिरहनु भएको छ ।

इलामको माङ्सेबुङस्थित लारुम्बामा धर्मगुरु आत्मानन्द लिङ्देनले स्थापना गर्नु भएको माङ्हिम अहिले किरात धार्मिक स्थलको रुपमा प्रसिद्ध छ । पाँचथरको लेबे्रकुटी, सिलौटी लगायतका स्थान फाल्गुनन्दकै कारण धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित बनेका छन् ।