२५ वैशाख २०८१, मङ्गलवार

शहिद चन्द्र मार्गको सभामुख घिमिरेद्वारा शिलान्यास

४ मंसिर २०८०, सोमवार
Image

झापा, ४ मङ्सिर । विर्तामोड नगरपालिकादेखि हल्दिबारी गाउँपालिकासम्म जोड्ने शहिद चन्द्र मार्गको स्तरोन्नति सुरु गरिएको छ । सडकको आज प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शिलान्यास गर्नुभएको छ ।

विर्तामोड नगरपालिकाको वडा नम्बर–४ देखि वडा नम्बर–३ को आर्दश चोक नडियाबारी हुँदै वडा नम्बर–९ को हल्दिबारी गाउँपालिकाको सम्झाना चोकसम्म जोड्ने एक हजार दुई सय मिटर लम्बाईको सडकको सभामुख घिमिरेले शिलान्यास गर्नुभएको हो । 

शिलान्यस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्धारित समयमा सडक निर्माण सम्पन्न गर्न आग्रह गर्नुभएको छ । उहाँले सडक निर्माणमा बजेटको अभाव हुन नदिने तर तोकिएको मापदण्ड अनुसार नै सडकको कालोपत्रे गरिनु पर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, “सडक गुणस्तरीय र निर्धारित समयमा बन्छ भन्नेमा पूर्ण विश्वस्त छु । बजेटको अभाव हुन दिन्न ।” सडक बोर्डले गत बर्ष विनियोजन गरेको रु. एक करोड र चालु आर्थिक बर्षको रु एक करोड १० लाख गरी रु. दुई करोड १० लाखको बजेटमा सो सडक निर्माण हुन लागेको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले बताउनुभयो ।  उहाँका अनुसार सडक बोर्डले मुलुकमा विशेष महत्वका सडकलाई लक्षित गरेर बजेट बिनियोजन गर्दै आएको छ ।

 उहाँले पहिलोचरणमा बन्ने चार सय ५० मिटरको सडकको गत कार्तिक २० गते जनकपुरको एसडीएम कन्स्ट्रक्सन कम्पनीसँग रु. ६० लाखमा वि.सं. २०८१ असार मसान्तसम्ममा सकिने गरी ठेक्का सम्झौता भइसकेको जानकारी दिनुभयो । बाँकी रहेको ८०० मिटर सकड रु. एक करोड १० लाखको रकममा बन्ने गरी टेण्डर प्रक्रियामा गइसकेको उहाँको भनाई छ ।