२७ वैशाख २०८१, बिहिवार

कृषि

झापाको एउटै खेतमा फल्यो ८१ प्रजातिको रैथाने धान

८ मंसिर २०८०, शुक्रवार
Image

झापा, ८ मङ्सिर । झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं। ७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको दुई कठ्ठा जग्गामा ती धान फलेका छन् । रैथाने धानको संरक्षणका लागि देशभरिबाट संकलित धानलाई उक्त जग्गामा रोपेर फलाइएको समितिका अध्यक्ष डिल्ली पौडेलले बताउनुभयो ।

“बर्णशंकर बीउको विकास र प्रचलनका कारण पुराना रैथाने बाली लोप हुँदै गएका कारण तिनको संरक्षणमा हामी जुटेका हौं,” अध्यक्ष पौडेलले भन्नुभयो–“कालो नुनिया जस्ता लोप भइसकेका धानको विभिन्न प्रजातिलाई खोजेर फेरि किसानको खेतबारीमा फलाउने हाम्रो प्रयास सफल भएको छ ।”

समितिले भाडामा लिएको खेतको एउटै गरामा ८१ प्रजातिका धानका बाला झुलिरहेको हेर्नका लागि कृषि विषय अध्ययन गरिरहेका विद्यार्थी र सर्वसाधारण समेतको भीड लाग्ने गरेको छ ।

संरक्षण गर्न खेतमा फलाइएका रैथाने धानबालीमा कालो नुनियाका चार प्रजाति रहेका छन् । जसमध्ये कालो नुनिया–१ र कालो नुनिया–१० प्रजाति समिति आफैले खोज गरेर सरकारी निकायमा नाम दर्ता गराएको हो ।

जुम्लामा फल्ने मार्सीदेखि पूर्वी पहाडको इलाममा पाइने दुधराज प्रजातिको धान उक्त खेतमा फलाइएको छ । बासमतीका रातो, पहेलो, कालो र टुँडे प्रजातिका धान समेत त्यहाँ फलाइएको छ । समितिले रैथाने धान फलाइएको खेतलाई ‘प्रदर्शनी ब्लक’ नाम दिएको छ ।

त्यहाँ फलेका धानहरुमा कतारखेरा, कालो टुँडे बासमती, जंगली मन्सुली, रुद्राक्ष, जुंगे कालो बासमती, नाजिर, रातो बच्छी, चुल्ठे, बेलगुठी, रातो हाप्सा, होडबच्छी, सेतो बासमती, हाडीफोर, भोटाङे, चम्पासरी, सानो चनाचुर, अनदी, धनकुटे, लालबच्छी, बिरिमफुल, छोटी बासमती, रातो बासमती, रातो अनदी, गोडरा, अम्बरध्वज, दिरुवा, बदलधान, अनदी सेतो, झहर धान, समल चौरी, कोमल धान, गौमा धान, कनकजिर बासमती, कालो रातो अनदी, जिरासरी, अट्टे, राँगा धान, दुधराज, रास धान, मार्सी, अण्डी धान, अनदी रातो, हंसराज, रातो स्थानीय, तिल्की, रातो टुँडे बासमती, श्यामजिरा, घिउकुमारी, दोसरा, ठूलो मनसरा, सिकिचन, रामबेला, आपझुक्ते, जर्नेली र घिउपुरी रहेका छन् ।

त्यसैगरी, झिनुवा, मिडिया अनदी, थापाचिनी, सेते धान, कालो नुनिया ठूलो, साधारण कालो नुनिया, कालो नुनिया १, कालो नुनिया १०, हरिनकेर, परेवा प्वाँख, बामन चिनी, मधुमाला, मधुकर, पुलिङटार, कालो तृलसी, कस्तुरी, बुढीडाइन ३, बंगलादेशी, अनमोल ५५, अनमोल कालो टुँडे र बाघ जुंगे धान उक्त खेतमा फलेको छ ।

जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) नामक गैरसरकारी संस्थाको सहयोगमा ती धानका रैथाने प्रजातिहरु देशभरबाट संकलन गरिएको समितिकी सहजकर्ता जानुका मगरले बताउनुभयो ।

रैथाने प्रजातिका धानको बीउ लोप हुन नदिन र किसानहरुलाई रैथाने खेतीतर्फ आकर्षित गर्न एउटै खेतमा ८१ प्रजातिको धान फलाएर प्रदर्शन गरिएको उहाँले बताउनुभयो । ्

वि.सं. २०६५ सालमा समितिको स्थापना भएको र त्यसको एकवर्षपछि झापाको शिवसताक्षी वडा नं. ७ मा रैथाने बालीको बीउ बैंक स्थापना गरिएको सहजकर्ता मगरले जानकारी दिनुभयो । खेतमा फलेको धानलाई बीउ बैंकमा राखेर इच्छुक किसानलाई खेतीका लागि वितरण गरिने भएको छ ।

सोही बीउ बैंकमा दुई जातिको मकै, तीन जातिको कोदो, दुई जातिको फापर, आठ जातिको कार्तिके बोडी, १३ जातिको हिउँदे सिमी, पाँच जातिको फर्सी, पाँच जातिको लौका, छ जातिको घिरौला, तीन जातिको मास, एक जातिको करेला, एक जातिको बकुल्ला, दुई जातिको पोइसाग, एक जातिको तोरी, एक जातिको फिलुंगे र एक जातिको पोथ्रे सिमी संरक्षण गरेर राखिएको छ ।

समितिले शिवसताक्षी वडा नं। ६ र ७ का एक हजार ७० जना किसानलाई २२ समूहमा संगठित गरेर संस्थाको सदस्य बनाएको छ । ती सदस्यलाई समितिले रैथाने जातका अन्न र लहरे तरकारी बालीको बीउ उपलब्ध गराउँदै आएको छ । सदस्यले उत्पादन गरेको रैथाने बाली संस्थाले खरिद गर्दै आएको छ । किसानबाट वार्षिक रुपमा खरिद गर्दै आएको ७५ मेट्रिक टन बालीलाई प्रशोधन र उमारशक्ति परीक्षण गरेर अन्य किसानलाई सहुलियत मूल्यमा विक्री समेत गर्दै आएको सहजकर्ता मगरले बताउनुभयो ।

लोप हुँदै आएको रैथाने बालीलाई संरक्षण गरेर कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले मुलुकको कृषि क्षेत्रलाई नै योगदान पुर्याइरहेको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बताउनुभयो । नगरपालिकाले संस्थाको रचनात्मक कार्यमा प्रोत्साहन दिइरहेको समेत बताउनुभयो ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।