२ माघ २०८१, बुधवार

प्राडा शर्मासहित झापाका तीन अब्बल प्रतिभालाई पुरस्कृत गरिने

८ मंसिर २०८०, शुक्रवार
Image

झापा, ८ मङसिर । लाल भागिरथा बानियाँ प्रतिष्ठानले झापामा हुर्किएका तीन जना अब्बल प्रतिभालाई पुरस्कृत गर्ने भएको छ ।

प्रतिष्ठानले आज प्रेस क्लव मेचीनगरमा पत्रकार सम्मेलन गरी पुरस्कृत हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेको छ ।

लाल भागिरथा उत्कृष्ट प्रतिभा पुरस्कारबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सञ्जीव शर्मालाई पुरस्कृत गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले बताउनुभयो ।

पुरस्कारको नगद राशी रु. ३१ हजार र प्रमाणपत्र रहेको छ ।

यसैगरी, लाल भागिरथा उत्कृष्ट कृषि पुरस्कारबाट मेचीनगर–५ सुरेन्द्रनगरका किसान बद्रीकुमार राउत सम्मानित हुने भएका छन् । 

लाल भागिरथा उत्कृष्ट गृहिणी पुरस्कारबाट विर्तामोड–४ की हिमा लुइँटेल पाठकलाई सम्मानित गरिने भएको छ । सबै पुरस्कारको नगद राशी जनही रु. ३१ हजार रहेको छ ।

प्रतिष्ठानले हरेक वर्ष समाजसेवा, कृषि र महिलाको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने प्रतिभालाई पुरस्कार दिदै आएको छ । यसवर्ष एक जोडी ज्येष्ठ नागरिकलाई समेत सम्मानित गरिने प्रतिष्ठानले जनाएको छ ।

पत्रकार सम्मेलनको अध्यक्षता समेत गर्नुभएको अध्यक्ष बानियाँले यही मंसिर २० गते धाइजनमा एक समारोहबीच पुरस्कार वितरण गरिने जानकारी दिनुभयो । 

सभामुख देबराज घिमिरे र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पुरस्कार वितरण कार्यक्रममा अतिथिको रुपमा निम्तो दिइएको उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपाध्यक्ष मनोज बानियाँ, सचिव डम्बर देउजा, सदस्यद्वय भाष्कर घिमिरे र मोहन काजीको उपस्थिति रहेको थियो । सो अवसरमा प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।