२६ वैशाख २०८१, बुधवार

पूर्वराजा झापामा, शक्ति देखाउने राप्रपाको तयारी

८ मंसिर २०८०, शुक्रवार
Image

झापा, ८ मंसिर । कलेजमा शालिक उद्घाटन गर्न झापा आउनु भएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाले तामझामसहित स्वागत गर्ने भएको छ ।

पूर्वराजा शाह आजै झापा आएर मेचीनगरको पाँच तारे होटल मेची क्राउनमा बस्नु भएको छ । शनिवार राप्रपाले र्यालीसहित उहाँलाई विर्तामोड पुर्याएर कार्यक्रममा सहभागी गराउने भएको हो ।

यो कार्यक्रमलाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा लिएको छ ।

शनिबार दिउँसो शाहले झापाको विर्तामोडको रामचोकमा  रहेको इकम कलेज र कलेजमा  निर्माण गरिएको पूर्वराजा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रम छ ।

काठमाडौँमा दुर्गा प्रसाईंले राजाको पक्षमा शक्ति प्रदर्शन गरिरहेका बेला झापामा भने राप्रपाले शक्ति देखाउन लागेको हो । 

पूर्व राजा शाहलाई नागरिकतहबाट स्वागत गर्ने तयारी भइरहेको राप्रपा कोशी प्रदेश अध्यक्ष राम थापाले बताए ।

होटलमा आजै साँझदेखि पूर्वराजा शाहले राप्रपा नेता र राजाबादी समर्थकसँग भेटघाट तीब्र बनाएका छन् । 

शनिबार दिउँसो १ बजे कलेजको उद्घाटन पछि शाह दमकस्थित आफ्नो निवासमा जानेछन् । आइतबार उनी काठमाडौँ फर्कने जानकारी आएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो ।

कलेज र शालिकको उद्घाटन गर्न आउने पूर्व राजा शाहले सम्बोधन गर्ने कुनै कार्यक्रम नरहेको उहाँले बताउनुभयो ।