२७ वैशाख २०८१, बिहिवार

“आमाको आशिर्वादले बाँचेर आउन पाएँ, यसैमा खुशी छु”

११ मंसिर २०८०, सोमवार
Image

मेचीनगर, ११ मङसिर । मलेसियाबाट उद्धारपछि घर आइपुग्नु भएका मेचीनगरका गोपाल घिमिरेले आमा आशिर्वादले बाँचेर घर फर्किन सकेको बताउनु भएको छ ।

वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका वडा नं. ६ का ३७ वर्षीय गोपाल घिमिरे शनिवार घर आइपुग्नु भएको हो ।

विदेशको सकसपूर्ण लामो बसाईपछि घर फर्कनु भएको घिमिरे कम बोल्नुहुन्छ । उहाँले मलेसियामा रहँदा ज्यादै दुःख र सास्ती व्यहोर्नु परेको बताउनुभयो । 

“गैरकानूनी कामदार भएपछि बस्न र खान नै मुस्किल परेको थियो,” उहाँले आमासँग भेट भएपछि भन्नुभयो–“यतिका वर्ष विदेश बस्दा सुको कमाएर घर पठाउन सकिन । आमाको आशिर्वादले बाँचेर आउन पाएँ । यसैमा म खुशी छु ।”

अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो । उहाँकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि उहाँको खोजी भएको थियो ।

शुक्रवार क्लालाम्पुरबाट काठमाडौं आउनु भएका घिमिरे शनिवार विहान सौर्य एयरको जहाजबाट झापाको चन्द्रगढी विमानस्थलमा ओर्लनु भएको उहाँको खोजीमा पहल गर्नुभएको पत्रकार अर्जुन कार्कीले जानकारी दिनुभयो ।

झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाकान्त पंगेनीेले उद्धारका लागि सहयोग गर्नुभएको थियो ।

मलेसियामा खोज्न र उद्धार गरेर नेपालसम्म ल्याउन पहल गर्नुभएको सांसद् शर्माले आमा सानी घिमिरेको कारुणिक अपिलपछि मलेसियामा रहेको नेपाली जनसम्पर्क समितिको सक्रियता र त्यहाँको नेपाली राजदूताबासको सहयोगमा घिमिरेको सकुशल उद्धार सम्भव भएको बताउनुभयो ।

“गोपाल भाइ मलेसियामा भेटिनुभयो मात्र होइन उहाँकी आमाले हराइरहेको छोरालाई आज आफ्नै अँगालोमा पाउनुभयो,” सांसद् शर्माले उद्धारप्रति खुशी व्यक्त गर्दै भन्नुभयो–“यो नै सबैभन्दा ठूलो खुशी हो ।”

सांसद् शर्मा र नेपाली जनसम्पर्क समितिका अध्यक्ष चोलाकान्त पंगेनीले काठमाडौंमा शुक्रवार घिमिरेलाई भेट्नु भएको थियो । गैरकानूनी रुपमा मलेसियामा रहेका घिमिरेलाई स्वदेश फर्काउन हवाई टिकट र जरिवाना गरेर नेपाली रु। एक लाख ४ हजार १६० तिर्नुपरेको अध्यक्ष पंगेनीले जानकारी दिनुभयो । जसमध्ये घिमिरेले रु. ३३ हजार ६०० र बाँकी रु. ७० हजार ५६० सांसद् शर्मामार्फत जनसम्पर्क समितिले उपलब्ध गराएको थियो ।

राज ओभरसिज मेनपावर कम्पनीमार्फत वि.सं. २०६१ चैत ८ गते प्रोडक्सन अपरेटर कामका लागि श्रम अनुमति पत्र पाएर १९ वर्षको उमेरमा घिमिरे मलेसिया जानु भएको थियो । घर फर्किदा उहाँ ३७ वर्षको भइसक्नुभयो । मलेसिया पुगेको एक सातापछि उहाँमाथि गैरकानुनी कामदार भएको आरोप लागेको थियो । त्यसपछि उहाँको वास्तविक अवस्थाबारे नेपालमा रहेको परिवार बेखबर थियो ।

विदेशमा हराएको छोरा फर्केर घर आएकोमा घिमिरेकी आमा सानी घिमिरेले खुशी व्यक्त गर्नुभएको छ । उहाँले छोरा खोजिदिन पहल गरिदिनुहुने सबैप्रति आभार प्रकट गर्दै अब दुःखजिलो गरेर स्वदेशमै गरिखाने बाटोमा लाग्न छोरालाई आग्रह गर्नुभएको छ ।

घरमा घिमिरेको एक छोरा पनि छन् । घिमिरे विदेशमा रहँदै पत्नीले घर छाडेर हिँडेकी थिइन् । उहाँकी आमा सानी घिमिरे नेत्रहीनको समूहलाई सडक गायनमा डोहोर्याएर गुजारा चलाउँदै आउनु भएको छ । घरको आर्थिक स्रोतले खान लाउन नपुग्ने जनाउँदै छोरालाई वैदेशिक रोजगारीमा पठाउन ऋण काढ्दा घर पनि बैंकको धितोमा रहेको उहाँले बताउनुभयो ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।