२४ वैशाख २०८१, सोमवार

सोह्र बर्षपछि काँकरभिट्टाका गोपाल घरमा आइपुग्दा आमा हर्षित

९ मंसिर २०८०, शनिवार
Image

मेचीनगर, ९ मंसिर । मलेशिया गएका काँकरभिट्टाका गोपाल घिमिरेको १६ वर्षपछि आमासँग भेट भएको छ । मलेशियामा ६ वर्षदेखि सम्पर्कविहिन काँकरभिट्टाका गोपाल घिमिरे १६ वर्षपछि घर आएका हुन् ।

गोपाल आज दिउँसो साढे २ वजे काठमाडौँबाट सौर्य एयरलायन्सको जहाजमा झापा मेचीनगर–६ स्थित काँकरभिट्टा घर आइपुगे । उनकी आमा सानी घिमिरेले छोरालाई देख्ने वितिकै अंगालो हालेर खुशीले आँसु झारिन् ।

छोरासँग भेट भएपछि आँसु पुछ्दै सानी घिमिरेले भनिन्–‘छोरा मलेशिया गएको १६ वर्ष भएको थियो । ६ वर्षदेखि सम्पर्कविहिन छोरालाई खोजी गरिदिने पहिलो मेरो भगवान अर्जुन भाइ नै हो । त्यसपछि अर्जुन भाइ मार्फत विश्वप्रकाश शर्मा सर र चोलाकान्त पंगेनी सरले गरेको सहयोग कहिलै विर्सने छैन । मेरो छोरालाई घरसम्म सकुशल ल्याइदिने तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद छ ।’

शुक्रबार मलेशियाबाट काठमाडौँ आइपुगेका गोपाल घिमिरेलाई नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का सांसद विश्वप्रकाश शर्मा र नेपाली जनसम्पर्क समिति मलेशियाका अध्यक्ष चोलाकान्त पंगेनीेले पनि भेटेका थिए ।

सांसद शर्माले गोपाल काठमाडौँबाट सौर्य एयरलायन्सको जहाजमा झापा आउँदा निःशुल्क टिकटमा आएको बताए । सौर्य एयरलायन्सका अध्यक्ष दिपक पोखरेलले गोपालको टिकट निःशुल्क गरिदिएको उनले बताए ।

गोपाल मलेशियामा ६ वर्षदेखि वेपत्ता भएपछि उनकी आमाले विभिन्न मिडिया, संघ–संस्था र व्यक्तिको घर धाइन् । तर केहि उपाया लागेन ।

गत भदौमा मेचीनगरमा पत्रकार सम्मेलन गरेपछि छोरा भेट्ने बाटो खुल्यो । सानी घिमिरेले पत्रकार सम्मेलनमा रुदैँ रुदैँ गरेको भिडियो पत्रकार अर्जुन कार्कीले सामाजिक सञ्जाल  प्रकाशित गरेपछि गोपाल मलेशियामा भेटिएका थिए ।