२२ वैशाख २०८१, शनिवार

ओमानमा अलपत्र झापाकी सञ्जिताको उद्धार

१४ मंसिर २०८०, बिहिवार
Image

झापा, १४ मङसिर  वैदेशिक रोजगारीको सिलसिलामा अरेबियन मुलुक ओमान पुर्याइएकी मेचीनगर नगरपालिका वडा नं. १५ की २८ वर्षीया सञ्जिता राजबंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फर्काइएको छ ।

गत असोज ३० गते स्काइ अफ दी वल्र्ड नामक मेनपावर कम्पनीले मासिक रु. ५० हजार तलब दिने आश्वासन दिएर उहाँलाई ओमानको अल लुल्लाह अल मिथल्ता ट्रेडिङ कम्पनीमा पुर्याएको थियो । व्यूटीपार्लरको काम दिने भनेर कम्पनीले मुख्य सहरबाट टाढा एकान्तमा रहेको तीन तले भवनमा पुर्याएर पर्यटकलाई नुहाइदिने र मसाज गर्ने काममा उहाँलाई जबर्जस्ती लगाउने प्रयास गरेको थियो ।

पुरुष पर्यटकलाई नुहाइदिने र शरीर मालिस गर्ने काम गर्न अस्वीकार गरेपछि रोजगारदाता कम्पनीका अरेबियन सञ्चालकहरुले मानसिक दवाव दिएर अज्ञात स्थानमा बन्धक बनाएर राखेको उहाँले बताउनुभयो । कम्पनीका सञ्चालकहरुले मुख थुनेर शारीरिक यातना समेत दिने गरेको उहाँले सुनाउनुभयो । 

सञ्जिताले यो खबर नेपालस्थित आफ्नो परिवारमा फोनको म्यासेजमार्फत पुर्याएपछि झापा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभाका सदस्य विश्वप्रकाश शर्मामार्फत ओमानस्थित नेपाली दूताबासले उहाँको सकुशल उद्धार गरेको हो । 

सञ्जिताले ओमानमा सकसपूर्ण ४० दिन बिताउनु पर्यो । उद्धारपछि यही मंसिर ११ गते उहाँ घर आइपुग्नु भएको हो । घर आइपुगेपछि उहाँले ओमानको कालकोठरीबाट बाँचेर आएको बताउनुभयो । विदेश गएर पैसा कमाउने र सुखमय जीवन बिताउने सबै सपना ध्वस्त भएको उहाँले बताउनुभयो ।

“ओमानमा मलाई चार तले भवनको अँध्यारो कोठामा एक्लै राखेर पर्यटकलाई नुहाइदिने काम गर्न जबर्जस्ती गरे,” उनले विदेशमा भोगेको पीडा सुनाउँदै भनिन्–“व्यूटीपार्लरको काम दिने भनेर ल्याएको हो, यस्तो काम गर्दिन भनेर मैले ठाडै अस्वीकार गरेँ । त्यसपछि मलाई उनीहरुले बन्धक बनाएर तनाव दिए ।”

उहाँले मसाजको काम नगर्ने स्पष्ट पार्दै आफुलाई नेपाल फर्किने वातावरण बनाइदिन रोजगारदाता कम्पनी अल लुल्लाह अल मिथल्ता ट्रेडिङका सञ्चालकहरुसँग आग्रह गर्दा रु. दुई लाख ५० हजार तिरेर मात्र घर फर्किन जवाफ पाएको बताउनुभयो ।

“तिमीलाई रु. दुई लाख ५० हजारमा हामीले किनेर ल्याएको हो, त्यो पैसा घरबाट ल्याएर हामीलाई देउ अनि मात्र घर फर्किन पाउँछौं भन्यो,” रोजगारदाता कम्पनीबाट पाएको सास्ती सुनाउँदै उहाँले भन्नुभयो–“त्यसपछि मैले बाँच्ने आशा मारिसकेको थिएँ ।”

उहाँ ‘हेयर स्टाइलिस्ट’ को काम गर्ने लिखित सम्झौतासहित स्काई अफ दी वल्र्ड नामक मेनपावर कम्पनीको विर्तामोड शाखामार्फत ओमान पुग्नु भएको हो । विर्तामोडमा रहेको अप्सरा व्यूटीपार्लरमा काम सिक्दा पार्लरकी सञ्चालक ललिता अधिकारीले स्काई मेनपावरमार्फत आफुलाई ओमान जान प्रलोभन देखाएको सञ्जिता बताउँछिन् ।

ओमानमा अलपत्र परेपछि सञ्जिताका परिवारका सदस्यहरुले उद्धारका लागि स्काई मेनपावर कम्पनी र अप्सरा व्यूटीपार्लर गुहारेका थिए । दुबै पक्षले आफुले जिम्मेवारी नलिने बताएपछि निराश भएर प्रतिनिधिसभाका सदस्य विश्वप्रकाश शर्मालाई भेट्न गएको सञ्जिताका काका वृक्षलाल राजबंशीले बताउनुभयो ।

“मलाई कम्पनीले अलपत्र पार्यो, छिटो उद्धार भएन भने म झुण्डिएर मर्छु भनेर भतिजीले म्यासेज पठाएपछि हामी अत्तालियौं,” सञ्जिताका काका वृक्षलाल राजबंशीले भन्नुभयो–“जसले ओमान पठाएको हो, त्यही मेनपावर र व्यूटीपार्लरमा जाँदा केही पनि जान्दैनौं भनेर फर्काइदिए ।”

सांसद् शर्माले ओमानस्थित नेपाली दूताबासमा सम्पर्क गरेपछि दूताबासकै पहलमा सञ्जिताको शीघ्र उद्धार भएको थियो । ओमान जाँदा रु. एक लाख ५० हजार मेनपावर कम्पनीले लिएको सञ्जिताले बताउनुभयो । उद्धारपछि घर फर्किदा निःशुल्क आउन पाएको उहाँले बताउनुभयो ।