२२ वैशाख २०८१, शनिवार

अर्जुनधारामा हरिद्वारबाट आचार्य बालकृष्ण आउने

१५ मंसिर २०८०, शुक्रवार
Image

झापा, १५ मङसिर । बालाचतुर्दशी पर्वमा अर्जुनधारा जलेश्वर धाममा यसपाली लाग्ने मेलामा प्रसिद्ध पतञ्जलि योगपीठ हरिद्वारका आयूर्वेद शिरोमणि आचार्य बालकृष्ण मुख्य पाहुनाको रुपमा आउनु हुने भएको छ ।

बालाचतुर्दशी पर्वको अवसरमा पारेर धामले यही मङ्सिर १७ देखि २५ गतेसम्म ४१ औं वार्षिक अनुष्ठानको आयोजना गर्दैछ । पर्वमा नेपाल र भारतका चार लाख धार्मिक पर्यटक भित्राउने धामको योजना रहेको छ ।

धामले आज पत्रकार सम्मेलन गरी बालाचतुर्दशी मेलाको धार्मिक अनुष्ठान बारे जानकारी दिदै अनुष्ठानलाई सफल बनाउन सबैसँग अपिल गरेको छ ।

धाम समितिका अध्यक्ष नविन गट्टानीले पत्रकार सम्मेलनमा बोल्दै मङ्सिर १७ देखि २५ गतेसम्म नौ दिवसीय श्रीमद् देवीभागवत महापुराण र मङ्सिर १९ देखि २४ गतेसम्म योग शिविरको आयोजना हुने जानकारी दिनुभयो ।

धाममा वि।सं। २०३९ सालदेखि वार्षिक अनुष्ठानको रुपमा महापुराणको आयोजना हुँदै आएको छ । 

अनुष्ठानमा प्रसिद्ध पतञ्जलि योगपीठ हरिद्वारका आयूर्वेद शिरोमणि आचार्य बालकृष्ण आउनु हुने र योग प्रशिक्षकहरुले छ दिन लगातार योग साधना गराउने कार्यक्रम रहेको धाम समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिनुभयो ।

खडेबाबा स्मृति उद्यानको उद्घाटन आचार्य बालकृष्णले गर्नुहुने कार्यक्रम छ । अनुष्ठानमा गंगा आरती, यज्ञ अनुष्ठान, योग साधना र सतबीज छर्ने कार्यक्रम रहेको धामका मूल अर्चक आचार्य अग्नि सिग्देलले पत्रकारहरुलाई जानकारी दिनुभयो ।

धामको अन्नदाता अषयकोष र गुरुकुल अक्षयकोषका लागि रु। एक एक करोडको अक्षयकोष सञ्चालन गर्न लागिएको हुँदा सोका लागि सहयोग गर्न भक्तजन तथा दाताहरुसँग धामले अनुरोध गरेको प्रचार संयोजक रमेश त्रिखत्रीले बताउनुभयो ।

अर्जुनधारा जलेश्वर धाम महाभारतकालकालीन कथासँग जोडिएको छ । किंबदन्ती अनुसार पाँच पाण्डवका तर्फबाट अर्जुनले विराट राजाका तिर्खाएका गाईको प्यास मेटाउन अर्जुनधारामा धनुषबाण हानेर धरतीभित्रबाट जलधारा निकालेका थिए । अहिले पनि अर्जुनधारामा पानीको धारा अनवरत बगिरहेको छ ।