१२ साउन २०८१, शनिवार

गौरीगञ्जकी रबिनालाई तिम्ल्याहा शिशु हुर्काउन कठिनाई

१७ मंसिर २०८०, आइतवार
Image

झापा, १७ मङ्सिर ।  गौरीगञ्ज गाउँपालिका वडा नं. ४ की सुकुम्बासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाई भएको छ । 

ताजपुरियाले डेढ महिना अघि तिम्ल्याहा छोरालाई जन्म दिनुभएको थियो । दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएको उहाँको परिवारमा लत्ताकपडा र खाद्यान्नको जोहो नभएकाले तिम्ल्याहा सन्तानलाई चिसोबाट जोगाउँदै स्याहार्न समस्या भएको हो ।

सुत्केरी ताजपुरियाका पति गाउँघरमा मजदुरी गर्नुहुन्छ । घरमा पाँच वर्षमुनिका दुई छोरी पनि छन् । यसअघि पति र पत्नीको मजदुरीको कमाईले परिवारलाई चाहिने खाद्यान्नको जोहो हुँदै आएको थियो । 

ताजपुरिया परिवार आफ्नो जग्गा नभएकाले ऐलानी जग्गा भएको सुकुम्बासी बस्तीमा बस्दै आएको छ । तिम्ल्याहा सन्तान विराटनगरको नोवेल मेडिकल कलेजमा जन्मिएका थिए । सुत्केरी व्यथा लागेपछि अस्पताल लैजान पालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको थियो ।

अहिले तीन जना शिशु हुर्काउन पत्नी एक्लैले नसक्ने भएकाले पतिसहित परिवारका सबै सदस्य लागेर स्याहार गर्दै आएका छन् । ज्यालादारी काममा जान नभ्याउँदा दैनिक कमाई शून्य भएको छ । 

ताजपुरिया परिवारलाई खाद्यान्न सहयोग र लत्ताकपडाको खाँचो छ । ऐलानी जग्गामा रहेको भुई घरमा ओछ्याउने र बस्ने न्यानो कपडाहरु छैनन् । शिशुहरु बिरामी हुने जोखिम बढेको छ । शिशुहरुलाई लगाइदिने पर्याप्त न्यानो कपडा परिवारसँग् छैन । शिशुहरु सुताउने कोक्रो नभएकाले साडीको कामचलाउ झोलुंगो बनाइएको छ । सुत्केरी आमा र शिशुहरुलाई मच्छडले टोक्नबाट जोगाउने झुल पनि छैन ।

पालिकाले दियो लहिनो गाई

गौरीगञ्ज गाउँपालिकाले सुत्केरी आमा र नवजात शिशुहरुको भरणपोषणका लागि लहिनो गाई प्रदान गरेको छ ।

पालिकाको तर्फबाट अढाई लिटर दुध दिने एउटा लहिनो गाई निःशुल्क उपलब्ध गराइएको पालिकाकी उपप्रमुख पुजन न्यौपानेले बताउनुभयो । नवजात तीन शिशुलाई हुर्काउन सहज होस् भनेर पालिकाले दुधालु गाई रु. ३३ हजारमा किनेर दिएको उहाँले जानकारी दिनुभयो । 

लहिनो गाई प्रदान गर्न गाउँपालिकाकी अध्यक्ष फुलवती राजबंशी र उपाध्यक्ष न्यौपाने सुत्केरी महिलाको घरैमा पुग्नु भएको थियो । नवजात शिशु र आमाको स्वास्थ्य अवस्थाको बारेमा पनि पालिकाको टोलीले जानकारी लिएको थियो । आर्थिक अभावले सुत्केरी र नवजात शिशुहरुको ताजा स्वास्थ्य अवस्थाको परीक्षण हुन सकेको छैन । 

यसैबीच, जर्मनीमा रहेका गौरीगञ्जका गजेन्द्र न्यौपानेले पुष्प बरुवाल फाउन्डेसनमार्फत सुत्केरी ताजपुरियाको सहयोगका लागि रु. ३० हजार पठाइदिएको पालिकाकी उपाध्यक्ष न्यौपानेले बताउनुभयो ।

उक्त रकम परिवारको आवश्यकता अनुसार खर्च गरिने र नवजात शिशुहरुको नाममा बैंकमा मुद्धति खाता खोलेर जनही रु. पाँच हजार जम्मा गरिदिन दाताले आग्रह गरेको उहाँले जानकारी दिनुभयो । 

गौरीगञ्ज गाउँपालिकाले सुत्केरीका लागि दमकसम्मका अस्पताल पुर्याउन गाउँबासीलाई निःशुल्क एम्बुलेन्स सुविधा दिदै आएको र सीमान्तकृत र दलितका कक्षा एकमा पढ्ने छोराछोरीलाई रु. पाँच हजारको मुद्धति खाता खोलिदिने कार्य गरिरहेको उपाध्यक्ष न्यौपानेले बताउनुभयो । चालू आर्थिक वर्षदेखि नै कक्षा १ का विद्यार्थीलाई बैंकको मुद्धति खातामा पैसा जम्मा गरिदिने गरी रु. १० लाखको बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

तस्वीर /आत्माराम राजबंशी

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।