१६ वैशाख २०८१, आइतवार

अरबौं विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय संकटमा

२४ मंसिर २०८०, आइतवार
Image

झापा, २४ मङ्सिर । अलैंचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय संकटमा परेको सरोकारवालाहरुले बताएका छन् । 

राष्ट्रिय चिया तथा कफि विकास बोर्डले गत बर्षको तुलनामा चालु आर्थिक बर्ष २०८०÷ ०८१ मा दोब्बर विदेशी मुद्रा भित्र्याउने आंकलन गरिरहेको अवस्था सरोकारवालाहरुले चिया क्षेत्रमा गम्भीर संकट निम्तिएको बताएका हुन् । 

केही दिन अघि विर्तामोडमा आयोजित कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले चालु आर्थिक बर्षमा नेपालबाट अर्थोडक्स र सीटीसी चिया निर्यातबाट करिब रु आर्ठ अर्बको विदेशी मुद्रा भित्रिने आंकलन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले समयमै चियालाई चाहिने मलसहितका कार्यक्रम उपलब्ध गराएको छ । यसले उत्पादन पनि बढ्ने अनुमान छ । उत्पादन बढेसँगै निर्यात बढी स्वत भइहाल्छ ।”

चिया क्षेत्रका विद्यमान समस्याहरुको समाधान प्रभावकारी भूमिका निर्वाह गर्ने र सरोकारवालाले उठाएका सबै खाले समस्याको उचित सम्बोधन गर्दै राज्य पक्षलाई समेत समस्याहरुको जानकारी गराउने उहाँले बताउनुभयो । गतबर्ष चिया निर्यातबाट मात्र नेपालमा रु. तीन अर्ब ८० करोड रकम भित्रिएको बोर्डको तथ्याङ्कमा उल्लेख छ ।

चिया किसान हर्क तामाङले बोर्डले गरे जस्तो आंकलनले काम नगर्ने बताउनुभयो । उहाँले बोर्डले कोठमा बसेर तथ्याङ्क तयार गर्ने, किसानका बगानसम्म पुगेर मूल्याङ्कन नगर्ने हुँदा यस्तो लक्ष्य लिनु स्वभाविक भएको बताउनुभयो । “बोर्ड अलैंची पछि विदेशी मुद्रा ल्याउने चिया भन्छ”, उहाँले भन्नुभयो, “तर यही अवस्था रहने हो पाँच बर्षपछि चियाको बुट्टा भेट्न पनि गाह्रो होला जस्तो छ ।”

सरकारले चियालाई कृषिको रुपमा सूचीकृत नगरेर उद्योग सरह विद्युतीय महसुल लगाउँदा सिंचाईमा समस्या, अक्सन बजारको अभावले अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन नसक्नु मुख्य कारण रहेको उहाँको भनाई छ । 

अखिल नेपाल ट्रेड यूनियन केन्द्रीय उपाध्यक्ष भूपाल सापकोटाले चिया विकासको निम्ति बोर्डले अहिलेसम्म केही काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले उधोगी, व्यवसायी, किसान, मजदुर कसैको समस्या समाधानमा बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताउनुभयो । 

नेपाल चिया बगान श्रमिकसँगका केन्द्रीय अध्यक्ष दीपक तामाङले चिया क्षेत्रको समस्या समाधानमा राज्य उदासिन देखिएको आरोप लगाउनुभयो । उहाँले हालसम्म श्रम ऐन अन्तरगतको कतिपय बगानका श्रमिकहरुले ज्याला समेत नपाइरहँदा बोर्डले समेत कानून कार्यान्वयनमा समन्वय नगरेको गुनासो गर्नुभयो । 

नेपालमा २० हजार २ सय ३७ हेक्टरमा चिया खेती लगाइएको बोर्डले जनाएको छ । त्यसमध्ये ९९ प्रतिशत उत्पादन कोशी प्रदेशमा भइरहेको छ । ७० हजार नागरिकले रोजगारी पाइरहेको चियाका ३० वटा अर्थोडक्स र ३८ वटा सीटीसीका उद्योग सञ्चालित छन् । नेपाली चियाको मुख्य बजार भारत, चीन, श्रीलंका, रसिया, नेदरल्याण्ड लगायतका राष्ट्रहरुमा रहेको बोर्डको तथ्याङ्कले देखाएको छ ।