३ असोज २०८१, बिहिवार

अर्जुनधारामा शतबीज छर्नेको घुइँचो (फोटोहरु पनि)

२५ मंसिर २०८०, सोमवार
Image

झापा, २५ मंसिर । पितृको स्मृतिमा शतबीज छरेर आज बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइएको छ ।

पूर्वको पशुपतिनाथ भनेर चिनिने अर्जुनधारा जलेश्वर धाम शनिश्चरेमा आइतवारदेखि नै भक्तजनको घुइँचो लागेको थियो । आज विहान शतबीज छर्नेहरु लाखौंको संख्यामा मन्दिरमा आएको धाम समितिका अध्यक्ष नविन गट्टानीले बताउनुभयो ।

धाममा आइतबार साँझदेखि दीप प्रज्ज्वलन गरेर पचासौं हजार भक्तजन रातभर जाग्राम बसेका थिए । उनीहरुले भजनकीर्तन समेत गरेर रात बिताए ।

आज बिहान झिसमिसेदेखि नै शतबीज छर्नेको भीड लागेको धामका कोषाध्यक्ष मनोज जोशीले बताउनुभयो ।

शतबीज छर्न आउनेहरुको सुविधा र सहजताका लागि लाइन लाग्ने र वृद्धवृद्धाका लागि प्राथमिकता दिने व्यवस्था मिलाइएको छ ।

स्वयम्सेवक र प्रहरीहरुले भक्तजनहरुको सुरक्षा र व्यवस्थापनमा सघाइरहेका छन् ।

शतबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर छर्ने चलन छ । माता पिता दिवंगत भई एक वर्ष पूरा भएकाले दीपदान एवं शतबीज छर्ने धार्मिक चलन छ ।