विर्तामोड, २८ मंसिर । सतीको श्राप बगाउने र अकाल मृत्युवरण गरेका नेपालीहरुको आत्माको शान्तिको कामना गर्ने लक्ष्य लिएर मेचीदेखि महाकालीसम्म १०८ श्रीमद्भागवत महापुराण आयोजना हुने भएको छ ।
विर्तामोड वडा नं. ५ को धार्मिक अनुष्ठान सेवा समाज नेपालले शुक्रवार मेचीनगरको नवदुर्गा मन्दिरबाट उक्त महापुराणको प्रारम्भ गरिने जनाएको छ ।
समाजका अध्यक्ष पं. माधवशरण खनालले मेचीेदेखि सुरु भएको पुराण यात्रा अबिराम रुपमा महाकालीसम्मै पुग्ने र जम्मा १०८ वटा स्थानमा महापुराण आयोजना हुने बताउनुभयो ।
काजी भीम मल्लकी पत्नी सतीदेवीले देशको भलो चाहनेको कहिल्यै भलो नहोस् भनेर श्राप दिएको हुँदा मुलुकको उन्नतिमा मनोवैज्ञानिक प्रभाव परिरहेको जनाउँदै खनालले उक्त श्रापलाई धार्मिक विधिपूर्वक बगाइने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
आज विर्तामोडस्थित समाजको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पुराण र अभियानका बारेमा जानकारी दिइएको हो । जस अनुसार एक स्थानमा ७ दिनसम्म पुराण गरिने भएको छ । पुराणका लागि व्यास आसनको रुपमा प्रयोग गर्न सकिने गरी रथ निर्माण गरिएको छ ।
सोही रथमा पुराणबाचक बस्नुहुने र एक स्थानपछि अर्को स्थानमा रथलाई लगिने खनालले जानकारी दिनुभयो । खनालकै संकल्प अनुसार २०७६ सालदेखि १०८ श्रीमद्भागवत महापुराण सुरु गरिएको थियो । कोरोना महामारीका कारण अभियान रोकिएको थियो ।
एउटा पुराण गर्न कम्तीमा रु. ४ लाख खर्च हुने र त्यसको चाँजोपाँजो स्थानीय आयोजकले नै गर्ने भएका छन् । पुराणबाट संकलित श्रोत र साधनलाई स्थानीय मठमन्दिरकै संरक्षणमा प्रयोग गरिने भएको छ ।
१०८ पुराण सम्पन्न भइसक्न चार वर्ष लाग्ने र शुक्रवार १८ औं श्रीमद्भागत पुराणको आयोजना भइरहेको आयोजक समितिका सचिव भीमप्रसाद मिश्रले बताउनुभयो ।
पत्रकार सम्मेलनको अध्यक्षता समितिका अध्यक्ष खनाल आफैले गर्नु भएको थियो भने सञ्चालन समितिकी सल्लाहकार एवम् अधिवक्ता हेमकला कट्टेलले गर्नु भएको थियो ।
सो अवसरमा पं. घनश्याम ढकालले यो अभियान भएकाले कमाउने उद्देश्य नभएको स्पष्ट पार्नुभयो । उहाँले १२ वटा स्थानमा आफैले निःशुल्क पुराण बाचन गरेर अभियानलाई सघाउने घोषणा गर्नु भएको थियो ।
शुक्रवार मेचीनगरको वडा नं. ८ स्थित नवदुर्गा मन्दिरमा दिउँसो १२ बजे महापुराणको पं. देवीप्रसाद खतिवडाले कथा बाचन र आचार्य दुर्गाप्रसाद खतिवडाले उद्घाटन गर्नु हुने मन्दिर समितिका केशव तिम्सिनाले बताउनुभयो ।