२३ भदौ २०८१, आइतवार

भारतबाट पसेका हात्ती नफर्किदा तीन जिल्लामा त्रास

३० मंसिर २०८०, शनिवार
Image

झापा, ३० मङ्सिर  डेढ महिना अघि भारतबाट झापाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ वटा जंगली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् ।

झापा, मोरङ र सुनसरी क्षेत्रका जंगलमा विचरण गर्दै आएका ती हात्तीबाट जिउधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ । एक महिनामा हात्तीको आक्रमणमा परेर झापामा दुई जना, मोरङमा एक जना र सुनसरीमा एक गरी चार जनाको मृत्यु भइसकेको छ । 

मेचीनगर–४ का हात्ती संरक्षण अभियन्ता शंकर लुइँटेलका अनुसार गत कात्तिक ३ गते बाहुनडाँगीको सीमा क्षेत्रबाट ती हात्ती नेपाल पसेका थिए । हात्तीको बथानमा छावा पनि छन् । ती हात्ती हालसम्म नफर्किएको उहाँले बताउनुभयो । 

हिउँद याममा वर्षेनी यसरी नै भारतबाट हात्तीको ठूलो बथान नेपाल आउने गरेका छन् । लुइँटेलका अनुसार त्यस्ता हात्ती नेपालबाट १० देखि १५ दिनभित्रमा भारततिरै फर्कने गरेका थिए ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले हाल ती हात्ती मोरङको कानेपोखरी जंगलमा आश्रय लिएर बसेको बताउनुभयो । उहाँका अनुसार चार वटा छावासहित आएका हात्तीलाई सो क्षेत्र आसपासमा दिनहुँ देखिने गरेको छ । 

मोरङको कानेपोखरी जंगल आसपासका वस्ती र खेतमा मकै लगायत हात्तीलाई मन पर्ने खाद्यान्न प्रशस्त पाइने गरेका कारण तिनीहरु भारततिर नफर्किएको अनुमान गरिएको छ । सडक छेउछाउ र बजारमा पोलेर बिक्रीका लागि सो क्षेत्रमा बेमौसमी मकैको खेती हुने गरेको छ ।

बेलबारी नगरपालिका–८ र १० का स्थानीय किसानहरुले ठूलो क्षेत्रफलमा मकै खेती लगाएका छन् । “मकै हात्तीले असाध्यै मन पराउँछ”, डिभिजन बन कार्यालय मोरङका प्रमुख घिमिरेले भन्नुभयो, “मोरङको अन्य पालिका भन्दा यहाँ मकै खेती प्रशस्त हुने गरेको छ । हात्तीले प्रशस्त आहार पाएका कारण यतै बसेका हुन् कि भन्ने अनुमान छ ।”

उहाँले विहान बेलुका हिंडडुल गर्दा र जंगल प्रवेशमा सतर्कता अपनाउन तीन जिल्लाकै बासिन्दालाई आग्रह गर्नुभएको छ । बन कार्यालय, प्रहरी र स्थानीय बासिन्दाले हात्ती धपाउन प्रयास गरे तापनि सम्भव भएको छैन ।

गतबर्ष बाहुनडाँगी हुँदै नेपाल प्रवेश गरेका ३२ वटा हात्तीमध्ये १२ वटा मात्रै भारत फर्किएको हात्तीको गणना र अध्ययन समेत गर्दै आउनु भएको अभियन्ता लुइँटेलले बताउनुभयो । भारत नफर्किएका २० वटा हात्ती झापा र मोरङकै जंगलमा छरिएर रहेको उहाँको भनाई छ । उहाँले हाल तीन जिल्लामा ६० देखि ६५ वटा हात्ती जंगलभित्र रहेको दावी गर्नुभएको छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।