८ कार्तिक २०८१, बिहिवार

मेचीनगरमा पनि बन्यो मानव आश्रमको भवन

२ पुष २०८०, सोमवार
Image

झापा, २ पुस  सहयोगापेक्षी सडक मानवलाई उद्धार गरेर आश्रय दिने उद्देश्यले मेचीनगर नगरपालिका–४ मा मावन सेवा आश्रमले रु. एक करोडको लगानीमा भवन निर्माण भइरहेको छ । 

पहिलो चरणमा करिब ५० जना सहयोगापेक्षी तथा बेसहारा सडक मानवहरुलाई आश्रयका लागि आवास र भान्सा भवनको निर्माण भइरहेको मानव सेवा आश्रमका अभियन्ता नवराज केसीले जानकारी दिनुभयो ।

चालु आर्थिक बर्षमा आश्रम सुरु गर्ने गरी भवन निर्माण गर्ने काम भइरहेको उहाँले बताउनुभयो । स्थानीय रामबहादुर प्रधान र उहाँका श्रीमतीद्वव पूर्णमाया प्रधान, लक्ष्मी प्रधानले निःशुल्क प्रदान गरेको सवा दुई विगाह जमिनमा भवन निर्माण भइरहेको उहाँले बताउनुभयो । 

सोही स्थानमै करिब दुई सय जना अटाउने क्षमताको भविष्यमा भवन निर्माण गर्ने आश्रमको तयारी समेत रहेको उहाँको भनाई छ । यस क्षेत्रमा बनिरहेको आश्रमको भान्सा घर निर्माणका लागि मेचीनगर नगरपालिकाले रु.२५ लाख दिने आश्वासन दिएको उहाँले बताउनुभयो । 

उहाँले मेचीनगरमा आश्रमको भवन निर्माणसँगै झापा, इलामबाट उद्धार गरिएका असहाय, बेसहारा सहयोगापेक्षी सडक मानवलाई राखिने बताउनुभयो । विगतमा जिल्लाबाट उद्धार गरिएकाहरुलाई विराटनगरस्थित आश्रममा राखिने गरिएको थियो ।

देशका विभिन्न स्थानमा सञ्चालन आश्रममध्ये यहाँ निर्मित २३ औं शाखा रहेको अभियन्ता केसीले बताउनुभयो । आश्रमले वि.स.२०८२ साल भित्रमा देशका सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका घरपरिवार र आफन्तविहीन सहयोगापेक्षी व्यक्तिहरुको उद्धार गरी सडक मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य राखेको थियो ।

दुई महिना अघि मात्र मानव सेवा आश्रमले पूर्वीद्वार काँकडभिट्टाबाट ‘मेची महाकाली सडक मानव उद्धार यात्रा’ समेत गरेको थियो । आनी छोइङ डोल्मा फाउन्डेसन र मानव सेवा आश्रमको सहकार्यमा मुलुकका ४६ जिल्लामा यात्रामा गरेर सहयोगापेक्षी सडक मानवहरुको उद्धार गरेर विभिन्न आश्रममा राखिएको उहाँले जानकारी दिनुभयो । कोशी प्रदेशमा विराटनगरमा लामो समयदेखि आश्रम सञ्चालनमा रहेको छ ।