२५ वैशाख २०८१, मङ्गलवार

हल्दिबारीमा भेटिए पुरातात्विक इँटा र इनार

२ पुष २०८०, सोमवार
Image

झापा, २ पुस  दक्षिण झापाको हल्दिबारी गाउँपालिका वडा नं. ४ च्याङ्ग्राबन्ध गाउँमा पुरातात्विक महत्त्वका सामग्री भेटिएका छन् ।

स्थानीयबासीले खेतबारी जोत्दा र खाल्डो खन्दा अनौठा इँटा, भाँडाकुँडा र रहस्यमय इनार भेटेका छन् । ती सामानको कुनै सरकारी निकायबाट खोज तथा अनुसन्धान भएको छैन ।

“बारीमा सब्जी लगाएका थियौं,” स्थानीय मञ्जु बरालले भन्नुभयो–“ट्युवेलको पानीले पुग्दैन भनेर इनारका लागि खाल्डो खन्दै थियौं । अलिकति गहिरो खन्दा घ्याम्पो आकारको पुरानो इनार पो भेटियो ।”

गाउँलेहरुले गाड्धन होला भनेर अनुमान लगाए पनि त्यहाँ कुनै बहुमूल्य धातुहरु भने नभेटिएको बरालले बताउनुभयो । उक्त इनार आठ फिट गहिरोसम्म उधिनेर फेरि पुरिएको छ ।

बरालकै खेतबारीमा अहिले गाई, कुखुरा र मान्छेको पाइला अंकित अनौठा चारपाटे इँटाहरु बग्रेल्ती भेटिन्छन् । “हेर्दा बिस्कुट जस्ता चारपाटे यी सबै पुराना इँटा हुन्”–उहाँले बारीका इँटा देखाउँदै भन्नुभयो ।

च्याङ्ग्राबन्ध गाउँमा बिराट राजाको दरवारको भग्नावशेष हुनसक्ने स्थानीयको अनुमान छ । दक्षिण झापामा किच्चकबध स्थल र विराटनगरमा बिराट राजाको दरबार रहेको पहिचान भइसकेको हुँदा मध्यभागमा पर्ने यो स्थान बिराट राज्यकालीन हुन सक्ने नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष तारामणि सापकोटा बताउनुहुन्छ ।

“मैले पनि त्यहाँ भेटिएका अनौठा इँटाहरु हेरेको छु,” सापकोटाले भन्नुभयो–“अहिलेसम्म सरकारी तहबाट कुनै खोज अनुसन्धान नभएको हुँदा ती बस्तु कहिलेका हुन् भनेर यकिनका साथ भन्न सकिने अवस्था रहेन । तथापि, ती सामान पुरातात्विक महत्त्वका हुन् भनेर चाहिँ सजिलै अनुमान गर्न सकिन्छ ।”

उहाँले च्याङ्ग्राबन्ध गाउँका धेरै खेतबारीमा वि.संं. २०४२ सालदेखि नै पुराना इँटा र भाँडाकुँडा भेटिएको जनाउँदै पुरातत्व विभाग र इतिहासका अन्वेषकहरुले चासो राख्नु पर्ने बताउनुभयो । किच्चकबध क्षेत्र नजिकै भएको हुँदा ती सामग्री र भग्नावशेषहरु बिराट राज्यकालीन हुनसक्ने सम्भावना छ । 

हल्दिबारी गाउँपालिकाका गुनासो सुन्ने अधिकारी राजन न्यौपानेले पुराना भाँडाकुँडा र इँटाहरु भेटिएको भन्ने सुन्नमा आएको बताउनुभयो । ती सामान कति ऐतिहासिक छन् भनेर अनुसन्धानको खाँचो रहेको उहाँले बताउनुभयो ।

हल्दिबारीबाट १७ किलोमिटर सडक दूरीमा ऐतिहासिक किच्चकबध स्थल रहेको छ । विराट राज्यकालीन किच्चकलाई बध गरिएको स्थानको रुपमा किच्चकबध स्थललाई मानिएको छ ।

किच्चकबध स्थलमा बिराट राज्यकालीन इँटा, पर्खाल, भवन र इनारहरु सतहमुनि पुरिएको अनुमान गरिएको छ । जसमध्ये इँटा, पर्खाल र भाँडाकुँडा उत्खनन गरेर निकालिएका छन् । च्याङ्ग्राबन्धमा अहिले भेटिएका इँटाहरु किच्चकबध स्थलमा उत्खननबाट भेटिएका इँटासँग मिल्दोजुल्दो रहेको पत्रकार सापकोटा बताउनुहुन्छ ।

हल्दिबारी–४ मै खेतबारीमा पुरानो पर्खालको एउटा भग्नावशेष समेत भेटिएको छ । स्थानीयबासीका अनुसार यहाँ राणाकालदेखि नै एक जना सेनाका जर्नेलले हुकूम प्रमांगीबाट २० बिगाहा जग्गा पाएका थिए । स्थानीयले सोही कारण गाउँलाई जर्नेल कामत पनि भन्ने गरिएको बताए ।–––

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।