८ कार्तिक २०८१, बिहिवार

सदस्यलाई आत्मनिर्भर बनाउँदै उपभोक्ता महिला कृषि सहकारी

२ पुष २०८०, सोमवार
Image

मेचीनगर, २ पुस । उपभोक्ता महिला कृषि सहकारी संस्थाले प्रत्येक शेयर सदस्यलाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न आयमूलक कार्यहरु गर्दै आएको छ । 

मागुरमाडी सामुदायिक वनमा आवद्ध महिलाहरुले विगत नौ बर्ष अघि स्थापना गरेको सहकारीले शेयर सदस्यहरुलाई सीपमूलक काम सिकाएर आत्मनिर्भर बनाउन सुरु गरेको हो । यो सहकारीमा आवद्ध ग्रामीण क्षेत्रका महिलाहरु हुनुुहुन्छ । 

“नाफा कमाउने हाम्रो उद्देश्य होइन”, सहकारीकी अध्यक्ष संगीता थापाले भन्नुभयो ,“शेयर सदस्यको आवश्यकता पूरा गर्ने र स्वरोजगार बनाउने ध्येय हो ।” बचत तथा ऋणको पनि कारोवार गर्दै आएको संस्थाले शेयर सदस्यहरुलाई कृषि, शैक्षिक, बैदेशिक, पशुपालनलगायत सीपमूलक कार्यका लागि रु पाँच लाख धितोसहित र विना धितो रु. ५० हजारका दरले कर्जा प्रवाह गर्दै आएको उहाँले बताउनुभयो । 


संस्थाको नवौ बार्षिक साधारणसभाको अवसरमा छोटो अवधिमै संस्थाले अधिकांश शेयर सदस्यहरुमा आफ्नो कारोवार पुर्याउन सफल भएको अध्यक्ष थापाले आज प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । उहाँले प्रत्येक शेयर सदस्यहरुको शेयर पूँजीमा १० प्रतिशतका दरले बनोस् समेत थप गरिदिएको बताउनुभयो । 

सहकारीले १२ कठ्ठा स्थानीयबासीको जमिन लिजमा लिएर धान, मकै, तोरी, बेसारलगायतका खेती समेत गर्दैै आएको छ । खेतीबाट उत्पादन आम्दानीलाई समेत संस्थाले पूँजीकृत गर्दै सदस्यहरुका हित अनुसार उद्घोषण, सिलाई बुनाई, मुडा बनाउनेलगायतका तालिममा खर्च गर्ने गरेको अध्यक्ष थापाले बताउनुभयो । 


उहाँले संस्थाका अति विपन्न वर्गका उपभोक्तालाईहरुलाई बैदेशिक रोजगार, बाख्रा, सँुगुर वितरण, सिटी सफारी खरिदलगायतमा सहुलियतमा ऋण प्रदान गर्दै आएको जानकारी दिनुभयो । 

संस्थामा आवद्ध ५५ जना एकल महिलाहरु, असल ऋणि र असल बचत कर्तालाई समेत सम्मान गरेको छ । कार्यक्रमकी प्रमुख अतिथि तथा मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले उहाँहरु सबैलाई दोसला र शेयर सदस्यकै बारीमा फुलेको सयपत्री फूलको मालाले सम्मान गर्नुभएको थियो । 

संस्थाकी अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर –९ का वडाध्यक्ष कञ्चन तामाङ, वान नेपालकी संस्थापक अध्यक्ष मिरा पोखरेल, मागुरमाडी सामुदायिक वन विट नं. १ का अध्यक्ष अमर खम्बू, वडासदस्य सुष्मा कार्की डोलेलगायतले संस्थाले गरेका गतिविधिका बारेमा प्रंशसा गरेका थिए । 

सहकारीको शेयर पूँजी हाल रु.२१ लाख ३९ हजार ६४० रहेको छ । संस्थामा ५२१ जना शेयर सदस्यहरु रहेका छन् । प्रत्येक बर्ष सहकारीलाई सामुदायिक सञ्चित कोषबाट मागुरमाडी सा.व.उ.सले ५० हजार उपलब्ध गराउँदै आएको अध्यक्ष थापाको भनाई छ । 

उहाँले चालु आर्थिक बर्षमा शेयर सदस्यहरुलाई लक्षित सुतीको कपडाद्वारा महिनावारी प्याड बनाउने सिकाउने बताउनुभयो । महिलाहरुको पाठेघरको मुखको क्यान्सर दिनप्रतिदिन बढ्दै गएको कारण महिनावारीको अवस्थामा अनिवार्य प्याडको प्रयोग गर्न आवश्यक रहेको ठानी यो कार्यक्रम राखिएको उहाँले बताउनुभयो । 

उहाँले सहरकारीको आफ्नै भवन निर्माणका लागि जग्गा खरिद गर्ने, स्वास्थ्य शिविर सञ्चालन गर्ने, सदस्य शिक्षा तालिम सञ्चालन गर्ने, शेयर सदस्य लाभाम्बित कृषिमा आधारित कार्यक्रमहरु सञ्चालन गर्ने संस्थाको लक्ष्य रहेको बताउनुभयो ।