८ कार्तिक २०८१, बिहिवार

मेचीनगरमा चिसोले बेहोश भएकी महिलाको मृत्यु

३ पुष २०८०, मङ्गलवार
Image

मेचीनगर, ३ पुस । मेचीनगर–१० धाइजन ढाँटमा चिसोले कठाङ्ग्रिएर वेहोश भएकी बेबारिसे महिलाको मृत्यु भएको छ ।

मागेर खाइरहेकी अन्दाजी ३० वर्षीया ती महिला तीन दिन अघिदेखि धाइजन ढाँटमा चिसोमा डुलिरहेकी थिइन् ।

सोमबार अपराह्न पूर्वपश्चिम राजमार्ग छेउमा उनी कठाङ्ग्रिएर बेहोश भइन् । वडा सदस्य विशाल कार्कीले प्रहरीको सहयोग लिएर महिलाको  उद्धार गरेर प्रादेशिक अस्पताल भद्रपुर लगेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उपचारको क्रममा इमर्जेन्सी कक्षमै उनको मृत्यु भएको थियो । 

मृतक महिलाको आफन्त सम्पर्कमा आएका छैेनन् । उनको नाम र ठेगाना पनि खुलेको छैन । धाइजन ढाँटका स्थानीयले बोलीचालीका आधारमा उनी नेपाली नै भएको बताएका छन् ।

प्रहरीले मृतकको पोस्टमार्टम जाँच आजै गरिने जनाएको छ ।