८ कार्तिक २०८१, बिहिवार

कलेज जाँदा बाटैमा जंगली हात्तीसँग जम्काभेट

४ पुष २०८०, बुधवार
Image

झापा, ४ पुस । उत्तरी झापाको बुद्धशान्ति–३ की कृतिका बाँस्तोला बिर्तामोडको कजेज जान मंगलवार बिहान सँधै झैं घरबाट निस्किइन् । बीस मिटर नजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट भयो । आत्तिएर चिच्याउँदै भागेर उहाँले ज्यान जोगाउनुभयो ।

पूर्वी झापाको मेचीनगर–१५ बिचार्नीमा एक दिन अघि स्थानीय धनबहादुर न्यौपानेको घर हात्तीले भत्कायो । मधुमेहको बिरामी न्यौपाने हरेक बिहान पाँच बज्नु अगावै निन्द्राबाट व्युँझिनु हुन्छ । उक्त बिहान पनि सबेरै ब्युँझिनु भएको उहाँ आँगनबाट घरभित्र पसेको केहीबेरमै लुसुक्क छिरेर एक्ले हात्तीले घरको पर्खाल भत्काएको थियो । हात्ती आफ्नो बाटो लागेपछि मात्र न्यौपाने परिवार घरभित्रबाट बाहिर निस्किएका थिए ।

गाउँभरि डुलेर हात्तीले स्थानीयको तोरीबारी र आलुबारी धुलोपिठो बनायो । एक्लै लुसुलुसु आउने जंगली हात्तीसँग कसको कुन बेला जम्काभेट हुने हो भनेर गाउँमा त्रास बढेको न्यौपानेले बताउनुभयो ।

गाउँका मानिस घरधन्धा, गोठको काम र विद्यार्थीका लागि सबेरै उठ्ने गर्छन् । मर्निङ वाक हिँड्ने चलन पनि गाउँमा छ । तर, बिहानीपख लुसुलुसु गाउँ छिर्ने बानी परेका हात्तीका कारण विद्यार्थीहरुको पठनपाठन समेत प्रभावित हुने अवस्था सिर्जना भएको छ । 

जिल्लाका अधिकांश स्थानमा कक्षा ११ र १२ का मात्र नभएर स्नातक तहको कक्षा बिहान सञ्चालन हुने गरेको छ । “हाम्रो छोरो झिसमिसेमै साइकल चलाएर सात किलोमिटर टाढा धुलाबारीमा पढ्न जान्छ,” मेचीनगर–१५ सुकुम्बासी बस्तीका दुर्गाबहादुर बुढाथोकी भन्नुहुन्छ–“बाक्लो हुस्सु लागेको हुन्छ । हात्ती पनि जताततै भेटिन थालेका छन् । कलेज पठाउन पनि डरमर्दो भइसक्यो ।”

झापाका १५ वटै पालिका हात्ती प्रभावित छ । डिभिजन बन कार्यालय झापाले जिल्लाको बन क्षेत्रमा हाल तीन दर्जनभन्दा बढी हात्तीले आश्रय लिइरहेको जनाएको छ । जिल्लाको सबैतिर अभिभावकहरु आफ्ना छोराछोरीलाई बिहानीपख स्कुल–कलेज पठाउन डराउन थालेका छन् ।

बुद्धशान्ति–३ का सीताराम बाँस्तोलाले बस्तीमा दिनहुँ जंगली हात्ती पस्ने गरेको बताउनुभयो । साँझ नपर्दै बस्ती पस्ने हात्तीले मानिसलाई आक्रमण गर्ने, बाली खाएर क्षति पुर्याउने र घर भत्काउने उपद्रो गर्दै आएका छन् । 

जंगली हात्तीबाट जिउधन जोगाउन स्थानीयबासी रातभर जागा बस्ने गरेको बाँस्तोलाले बताउनुभयो । स्थानीय युवाहरु साँझ पर्ने वित्तिकै हात्तीको गस्तीमा खटिने र रातभर जाग्राम बस्ने गरेको उहाँले जानकारी दिनुभयो । 

अभिभावकहरुलाई छोराछोरी हात्तीको लखेटाइमा पर्लान् कि भन्ने चिन्ता थपिएको छ । “जसोतसो रातभर जाग्राम बसेर हात्ती लखेट्छौं,” उहाँले भन्नुभयो–“स्कूल पठाउँदा समेत चिन्ता हुन थालेको छ । अब घर र सडक कतै पनि सुरक्षित रहेन ।” 

आज विहान कलेज जाँदा हात्तीसँग जम्काभेट भएकी कृतिका उहाँकी दाजुकी छोरी हुन् । कृतिकासँगै भतिज किरण बाँस्तोला सडकमा कलेज बसको हर्न बज्ने वित्तिकै घरबाट निस्किएको जनाउँदै उहाँले भन्नुभयो– “चिसोका कारण बाक्लो हुस्सु लागेको थियो । उनीहरु यताउता नहेरी गाडी रहेको सडकतिर उक्लदै थिए । एक्कासी सडकमा हात्ती आइपुग्यो ।”

दुबै विद्यार्थी विर्तामोडको निधि कलेजमा पढ्छन् । आज भागेर ज्यान जोगाउन सफल उनीहरु भोलिदेखि कलेज कसरी जाने भन्ने कुराले चिन्तित छन् ।

दिनभर स्थानीय आदर्श सामुदायिक वन क्षेत्रमा लुकेर बस्ने पाँच वटा हात्ती साँझ पर्ने वित्तिकै एक्लाएक्लै गाउँ छिर्ने गरेको उहाँको भनाई छ । दैनिकजसो गाउँ डुल्ने जंगल हात्तीका कारण बुद्धशान्तिको जंगल आसपासका बच्चादेखि बृद्धबृद्धासम्म घरबाट बाहिर निस्न डराउँछन् ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जिल्लाभर जंगली हात्तीको बिगबिगी रहेको स्वीकार गर्नुभयो । उहाँले जलथल, पृथ्वीनगर, रंगेडाँडा, हल्दिबारी, बाह्रदशी, कचनकवल, बुद्धशान्ति, मेचीनगरलगायतका क्षेत्रमा हात्ती दिनहुँ गाउँ पस्ने गरेको बताउनुभयो । 

विभिन्न वनमा छरिएर बसेका र हुल बाँधेर हिंड्ने हात्ती नियन्त्रण गर्न स्रोत र साधनको समस्या भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एकैपटकमा दश ठाउँबाट हात्ती गाउँ पस्यो भनेर खबर आउँछ । कार्यालयसँग जम्मा एउटा गाडी छ । प्रहरीको सहयोग लिएर हात्ती धपाउने काम गरिरहेका छौं ।”

उहाँले झापाको जंगलमा हाल ४० वटा जंगली हात्ती रहेको अनुमान गरिएको बताउनुभयो । दैनिक घर भत्किएका र बालीनाली खाइदिएको लगायतका समस्या हुने गरेको गुनासो बढ्न थालेको उहाँले जानकारी दिनुभयो ।

हात्तीलाई जंगलबाट बाहिर निस्कन नदिन मेचीनगर, भद्रपुर र हल्दिबारीको जंगल वरिपरि राज्यको करोडौं लगानीमा दर्जनौं किलोमिटर लामो विद्युतीय घेराबेरा गरिएको छ । स्थानीयले आफुखुशी घरलाई वरिपरिबाट विद्युत तारले घेर्ने समेत उपाय गर्दै आएका छन् । तर, विद्युत तार पन्छाउन अभ्यस्त भइसकेको हात्तीले मानव वस्तीलाई निशाना बनाउन छाडेको छैन ।