८ कार्तिक २०८१, बिहिवार

हात्ती आक्रमण : एक महिनामै तीन जनाको मृत्यु

५ पुष २०८०, बिहिवार
Image

झापा, ५ पुस । एक महिनाको अवधिमा जिल्लामा जंगली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना कर्मचारी नै रहेका छन् भने एकजना सर्वसाधारणको रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

कार्यालयका प्रमुख मेघराज राईका अनुसार जलथल बनबाट निस्कने जंगली हात्तीको आक्रमणमा हल्दिबारी गाउँपालिका दुई जना र दमक नगरपालिकाका एक जनाको मृत्यु भएको हो । बुधवार विहान पनि वडा नम्बर २ का कार्यालय सहयोगी स्थानीय ५८ बर्षीय पाताल राजवंशीको मृत्यु भएको छ । 

विहान मर्निङ वाकमा हिंड्ने क्रममा सोही वडाको पारोखापीमा उहाँलाई हात्तीले कुल्चेर मारेको हो । यसैगरी, मंसिर १५ गते हल्दिबारी गाउँपालिका वडा नं. ३ स्थित रणकाली सामुदायिक बनका चौकीदार धनबहादुर बन हात्तीको आक्रमणमा मारिनुभएको थियो । 

त्यसअघि मंसिर ६ गते दमक नगरपालिका वडा नं. २ स्थित बेलडाँगी शिविरका पदमलाल तामाङको पनि हात्तीको आक्रमणमा मृत्यु भएको डिभिजन वन कार्यालयका प्रमुख राईले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिमा दुई वटा हात्ती पनि मरेका छन् । 

डेढ महिनायता झापा लगायत मोरङ र सुनसरी जिल्लामा जंगली हात्तीको बिगबिगी बढेको छ । भारतबाट बाहुनडाँगी नाका हुँदै नेपाल प्रवेश गरेका ३६ वटा जंगली हात्ती नफर्किएका कारण तीन जिल्लाको जनजीवन त्रस्त बनेको छ ।