२५ वैशाख २०८१, मङ्गलवार

कक्षा १० का सबिनले उडाए–नमुना हवाइजहाज

६ पुष २०८०, शुक्रवार
Image

झापा, ६ पुस । बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत् सबिन बाँस्कोटाले ‘नमुना हवाइजहाज’ बनाएर उडाउन सफल भएका छन् ।

सबिनले आठ महिना मिहेनत गरेर बनाएको ‘नमुना हवाइजहाज’ उडाउँदा साक्षी बनेकाहरुमध्ये एक  थिए बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाई । प्रसाईले सबिनको प्रतिभालाई ‘अद्भूत’ बताउनुभयो ।

बुद्धशान्ति–१ डुम्रेकोट घर भएका १७ वर्षीय सबिनले उडाएको हवाइजहाज नेपाल एयरलायन्सको प्रतिलिपी जस्तो देखिन्छ । जहाजमा मेकानिकल र इलेक्ट्रिकल प्रविधिको संयोजन गरिएको उनले बताए । धावनमार्गमा झैं दगुरेर उडेको जहाज २० मिनेटसम्म आकाशमा फन्को मारेर ओर्लिएको थियो । जहाजलाई सबिनले भुइँबाट रिमोटमार्फत नियन्त्रण गरेका थिए ।

खेर गइरहेको टिनको पाता, फलामको टुक्राटुक्री, प्लास्टिक र तार प्रयोग गरेर बनाइएको जहाज दुई दिन अघि गाउँपालिका परिसरमा उडाउँदा सयौं दर्शक रोमाञ्चित बनेका थिए । गाउँपालिकाको बैठक बसेर प्रतिभाशाली विद्यार्थी सबिनलाई आर्थिक सहयोग गर्ने पालिकाका अध्यक्ष प्रसाईले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उनले तीन वटा जहाजको नमुना र अन्य थुप्रै वैज्ञानिक उपकरण निर्माण गरेका छन् । बनाएका सामानले उनको घरको कोठाहरु भरिएका छन् । बनाएका जहाजहरुलाई उनले नेपाल एयरलायन्स, तारा एयरलायन्स र ग्रेटर नेपाल नाम दिएका छन् । 

अन्य उपकरणमा बिजुली साइकल, पाइप एसी, गल्र्स सेफ्टी, इन्फ्रारेड धारा, रोबोट, सोलार चार्जर लगायत छन् । गरीव परिवारका जन्मेका सबिनले घरमै अध्ययन र अभ्यास गरेर वैज्ञानिक उपकरण बनाउने गरेका हुन् । 

“सानैदेखि विज्ञान सामग्री बनाउने कुरामा चाख थियो,” सबिनले भने–“सुरु सुरुमा ममी ड्याडीले गाली गरे पनि अहिले सहयोग गर्नुभएको छ । आर्थिक स्रोत हुने हो भने अझ धेरै ठूला ठूला उपकरण बनाउन सक्नेथिएँ ।” एउटा हवाइजहाज बनाउन रु. ६५ हजार खर्च भएको उनले जानकारी दिए ।

भर्खर कक्षा १० मा पढ्दै गरेको विद्यार्थीमा विज्ञान उपकरण निर्माणमा यतिधेरै चाख र क्षमता भएको देखेर आश्चर्य लागेको बुद्धशान्ति वडा नं. १ का वडाध्यक्ष अनिल वाग्लेले बताउनुभयो । 

“एउटा सानो भाइमा यस्तो प्रतिभा हुनु सामान्य हुँदै होइन,” वडाध्यक्ष वाग्लेले भन्नुभयो–“हौसला र आर्थिक स्रोत हुने हो भने दुनियालाई छक्क पारेर देखाउने क्षमता रहेछ । उहाँले हामी सबैका अगाडि हवाइजहाज लगायतका उपकरणहरु प्रदर्शनी गरेर देखाउनुभयो ।”

सबिनकी आमा चेलीमाया बाँस्कोटाले गहना र गाई बाख्रा बेचेर उपकरण बनाउन सहयोग गरेको बताउनुभयो । विद्यालय जाँदा खाजा खान दिएको रु. २० पनि बचत गरेर रु. चार हजार बनाएको देखेपछि छोरोको चाहना पूरा गर्न आफुले गहना बेचेको उहाँले बताउनुभयो ।

सानैदेखि तीक्ष्ण दिमागको सबिनमा घरका रेडियो र व्याट्री खोलेर जोड्न रमाउने चकचके स्वभाव थियो । आमा चेलीमायाका अनुसार नयाँ किनेर ल्याएका रेडियो, टर्च लाइट र मोवाइल उपकरण सबै बिगार्ने र बनाउने गरेर सबिनले सुरुमा घरमा हैरानी दिने गरेका थिए ।

“असाध्यै चुलबुले र तेज दिमागवाला थियो”, छोराको बाल्यकाल सम्झिदै आमा चेलीमाया भन्नुहुन्छ, “दुःख गरेर कमाएको पैसाले ल्याएको सामान भत्काएर हैरान नै पाथ्र्यो ।” तर, अहिले हवाईजहाज समेत बनाएर उडाउन थालेपछि परिवारका सबै खुशी छन् ।

सबिनले बनाएको अर्को सामान बिजुली साइकल हो । चलिरहेको पाइडल साइकलमा उनले आफैद्वारा निर्मित व्याट्री जोडेका छन् । उक्त ब्याट्री चार्ज गर्न सकिने र एकपटक चार्ज गरे पछि साइकललाई दिनभरि कुदाउन सकिने उनको दावी छ । बिजुली साइकल बनाउन रु. २० हजार खर्च भएको छ ।

बिग्रेको चार्जर र एडप्टर जोडेर ‘गल्र्स सेफ्टी’ नामको नयाँ डिभाइस उनले बनाएका छन् । जसले कुनै पनि युवतीलाई दूव्र्यवहार भएमा बिजुलीको करेन्ट प्रवाह गरिदिने उनको दावी छ । डिभाइसका कारण दूव्र्यवहारबाट जोगाउने उपकरण भएकाले यसको नाम ‘गल्र्स सेफ्टी’ राखिएको रहेछ ।

भ्वाइस कमान्डबाट चल्ने रोबोट र बमबार्ड गर्ने ड्रोन बनाउन सक्ने उनको दावी छ । एउटा रोबोट निर्माण अन्तिम चरणमा छ । कोठाभरि चिसो वाफ फ्याक्ने इलेक्ट्रोनिक डिभाइस उनले बनाएर प्रदर्शन गरेका छन् । ‘पाइप एसी’ नाम दिइएको उक्त डिभाइस बिजुलीबाट चल्छ । 

मिहनेत र खर्चले यस्ता उपकरण बनाउने सबिनले भविष्यमा धेरै पढेर मेकानिकल इन्जिनियर बन्ने सपना साँचेका छन् । “आठ महिना लाग्यो । कयौंपटक बनाउँदै भत्काउँदै गर्दा मात्र यो सम्भव भएको हो”, उनले भने, “सामान किन्न धेरै पैसा चाहिन्थ्यो । त्यो सबै मेरी आमाले गाई, बाख्रा र गहना बेचेर पुर्याउनुभयो ।”

पाँचथरको हिलिहाङमा जन्मेका सबिनलाई उनका बुवा कृष्ण बाँस्कोटाले राम्रो शिक्षा दिने उद्देश्यले सात वर्ष अघि पहाडबाट मधेशको झापा ल्याएर पढाउन थाल्नु भएको थियो । मधेशमा बाँस्कोटा परिवारको दुई कठ्ठा घडेरी मात्र छ । उक्त जग्गामा टिनको छानो र बाँसको भाटाले बारेको एउटा घर छ । बुबा–आमाले अर्कैको खेतबारी अधिया–ठेक्कामा लिएर परिवारको जीविका चलाउँदै आउनु भएको छ ।

आर्थिक स्रोत नभएकाले छोरालाई खासै सहयोग पुर्याउन नसकेको वुवा कृष्ण बाँस्कोटा बताउनुहुन्छ । घरमा वाइफाइ नभएका कारण सबिन गाउँको वाइफाइमा गएर मोवाइल चलाउने गर्छन् । “यति धेरै विज्ञानका सामान बनाउने छोरोलाई सहयोग नगरौं भन्ने त मनमा हुँदैन नि,” मनको बह पोख्दै उहाँले भन्नुभयो–“घरमा वाइफाइ जोडिदिन सकेको छैन । एउटा राम्रो मोवाइल पनि किनिदिन सकेको छुइन ।”

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।