२३ भदौ २०८१, आइतवार

कोशीका गैससकर्मीलाई क्षमता अभिवृद्धि तालिम

६ पुष २०८०, शुक्रवार
Image

झापा, ६ पुस । लिडरसिप एकाडेमी नेपाल (लान)ले कोशी प्रदेशमा क्रियाशील गैरसरकारी संस्थामा कार्यरत सामाजिक कार्यकर्ताहरुलाई तालिम प्रदान गरेको छ ।

विहीवार विर्तामोडमा सुरु भएको उक्त तालिममा दलित तथा आदिवासी जनजातिहरुको अधिकारका लागि सक्रिय २४ अगुवा कार्यकर्ता सहभागी रहेका छन् । तालिम आज समापन भएको छ । तालिममा १२ जिल्लाबाट प्रतिनिधिहरु आएका थिए । 

लानका प्रबन्धक प्रभाकर प्रधानले दलित तथा आदिवासी जनजातिको पहिचान र अधिकारका क्षेत्रमा कार्यरत संस्थाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो । 


उहाँले तालिममा सहभागीहरुलाई प्रोजेक्ट प्लानिङ, कार्यान्वयन, व्यवस्थापन, नेतृत्व विकास र वकालतलगायतका विषयवस्तुहरुको बारेमा सिकाइएको बताउनुभयो । 

तालिमको सहजीकरण विर्तामोड नगर र हल्दिबारी गाउँपालिकाका योजना शाखा प्रमुखहरु जय तिम्सिना, राजन न्यौपाने र शि–लिड्स झापाका प्रमुख प्रशिक्षक सोमराज ढकालले गर्नु भएको थियो ।

तालिमको उद्घाटन प्रतिनिधि सभाकी सदस्य हर्कमाया विश्वकर्माले गर्नुभएको थियो । उहाँले गैरसरकारी संस्थाहरुले आवाज विहीनहरुको आवाजलाई बुलन्द बनाउने र अधिकार खोज्ने काममा निर्वाह गरेको भूमिका सराहनीय भएको बताउनुभयो । 

गैरसरकारी संस्था महासंघ कोशीका अध्यक्ष छविलाल खतिवडाले संघसंस्थाहरु अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको बताउनुभयो । उहाँले हाल कोशी प्रदेशमा एउटै पनि आइएनजीओ सक्रिय रुपमा सञ्चालनमा आउन नसकेको बताउनुभयो । 

आम्दानीको स्रोत नै नभएका संघसंस्थाहरुलाई स्थानीय सरकारले कर बढी लगाइरहेको आरोप लगाउँदै उहाँले जनप्रतिनिधिको वेवास्ताले जनता सेवाबाट विमुख हुँदै जानुपर्ने परिस्थितिको सिर्जना भइरहेको गुनासो सुनाउनु भयो  ।

लानले मुलुकका कोशीसहित छ प्रदेशमा सो तालिम सम्पन्न गरिसकेको संस्थाकी कार्यक्रम कोअर्डिनेटर सविना बोडेले बताउनुभयो । 

उहाँका अनुसार बाँकी रहेको मधेश प्रदेशमा चाँडै तालिम आयोजना गरिनेछ । सातै प्रदेशका ७७ जिल्लाका गैरसरकारी संस्थाहरुको संस्थागत क्षमता विकास गर्ने अभिप्रायले पहिलो चरणको तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो । 

नारी सञ्चार गृह झापाकी निवर्तमान अध्यक्ष भीमा शिवाकोटीले तालिमको संयोजन गर्नुभएको थियो । समाज रुपान्तरणका लागि स्थापना भएका गैरसरकारी संस्थाहरुलाई सक्षम बनाउन तालिम महत्वपूर्ण हुने अपेक्षा गरिएको उहाँको भनाई थियो ।