८ कार्तिक २०८१, बिहिवार

पत्रकार महासंघ झापाका संस्थापकहरु सम्मानित

११ पुष २०८०, बुधवार
Image

बिर्तामोड, ११ पुस । नेपाल पत्रकार महासंघ झापा शाखाले शाखाको संस्थापकहरुलाई सम्मान गरेको छ ।

शाखाको ३५औं स्थापना दिवसको अवसर पारेर सोमबार उक्त सम्मान गरिएको हो ।

शाखाका संस्थापक समितिका सचिव तथा पूर्व अध्यक्ष तारा बराल, संस्थापक समितिका सदस्य तथा पूर्व अध्यक्ष गोविन्द चन्द क्षेत्री र संस्थापक कार्यसमिति सदस्य मोहन ढुंगानालाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । ढुंगानाको सम्मान उनका छोरा पूर्व पत्रकार देवेन्द्रकिशोर ढुंगानाले ग्रहण गर्नु भएको थियो । कार्यक्रममा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना प्रमुख अतिथि हनुहुन्थ्यो ।

सोही अवसरमा विभिन्न दाताहरुले महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई नगद तथा चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रम महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको थियो । प्रमुख अतिथि उपसभामुख राना, पूर्व अध्यक्षहरुको तर्फबाट संस्थापक समितिका सचिव समेत रहेका बराल र सामाजिक संघ–संस्थाका तर्फबाट एकका लागि एक अभियानका सहसंयोजक तथा झापा गोल्डकपमा अध्यक्ष विनोद बस्नेतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

उपाध्यक्ष केशव भट्टराईले औचित्यमाथि प्रकाश, उपाध्यक्ष सुशिला संग्रौलाले स्वागत गरेको कार्यक्रम सचिव डिकेश लामाले सञ्चालन गर्नु भएको थियो ।सम्मानित व्यक्तित्वको सम्मानपत्र कार्यसमिति सदस्य स्वस्तिका आचार्यले वाचन गर्नु भएको थियो ।

पत्रकार सहारा उपचार कोषका लागि उक्त कार्यक्रममा नौ लाख ११ हजार एक सय ११ रुपैयाँ जुटेको छ । छ लाख ३३ हजार एक सय ११ रुपैयाँ नगद तथा चेकबाट प्राप्त भएको छ भने विभिन्न दाताले कोषलाई दुई लाख ७८ हजार रुपैयाँ प्रदान गर्ने दाताले घोषणा गरेका छन् ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु चिन्तामणि दाहाल, मोहन काजी, भीम नेम्वाङ, तारामणि सापकोटा, महासंघ तेह्रथुम शाखाका अध्यक्ष अमृत बाँस्तोला लगायत पत्रकारका संघ–संगठनका प्रमुख–प्रतिनिधि, सामाजिक तथा व्यवसायिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको आतिथ्य रहेको थियो ।