१ जेठ २०८१, मङ्गलवार

मेनपावरको ठगी धन्धा : असुल्ने एउटा, पठाउने अर्कै

१४ पुष २०८०, शनिवार
Image

झापा, १४ पुस  गत असोजमा वैदेशिक रोजगारीमा गएका भद्रपुर–८ का अकबर अन्सारी दुबईमा अलपत्र परेपछि पुस ६ गते उहाँकी पत्नी अफ्रुज खातुनले नगरप्रमुख गणेश पोखरेलकै कार्यकक्षमा आत्मदाहको प्रयास गर्नुभयो ।

मेनपावर कम्पनीको एजेन्टले स्वदेश फर्काउन पहल गर्नुुको साटो उल्टै धम्क्याउन थालेपछि नगरप्रमुख पोखरेललाई आफ्नो व्यथा सुनाउन पुग्दा आवेशमा उक्त घटना भएको थियो । तत्काल उद्धार गरेर खातुनलाई बचाइएको थियो ।

अन्सारीलाई विदेशी भूमिमा काम र दामबिना अलपत्र पार्ने मेनपावर कम्पनी काठमाडौंको सागर रिक्रुटमेन्ट प्रालि थियो । उक्त कम्पनीले असोज २८ मा एउटै उडानबाट पठाएका झापाका तीन सहित आठ जना दुबईमा अलपत्र परेका थिए । तीमध्ये सात जना मुस्किलले स्वदेश फर्किएका छन् भने अकबर अन्सारी फर्किने क्रममा छन् ।

दुबईमा अलपत्र पर्नेहरुमा झापाको मेचीनगर–१० का ३७ वर्षीय महेश राजबंशी, शिवसताक्षीका राजकुमार ताजपुरिया र भद्रपुरका अकबर अन्सारी हुन् । त्यसैगरी, अलपत्र पर्नेहरुमा मोरङको उर्लाबारीका राहुल शर्मा, नुवाकोटका हिमाल तामाङ, कपिलबस्तुका ईश्वर गुप्ता र काठमाडौंका राजकुमार तामाङ लगायत छन् ।

कागजी प्रक्रिया पूरा गरेर दुबई पठाउने कार्य काठमाडौंको सागर रिक्रुटमेन्ट प्रालिले गरेको भए तापनि मान्छे खोज्ने र पैसा असुल्ने धन्धामा जिल्लाका मेनपावर कम्पनी संलग्न हुने गरेका छन् । झापाका राजबंशी, ताजपुरिया र मोरङका शर्माले आफुहरुलाई ठगी गर्ने धन्धामा विर्तामोडको स्काई स्टार मेनपावर कम्पनी र सुनकोशी मेनपावर कम्पनी संलग्न रहेको बताउनु भएको छ ।

दुबईमा दुई महिनाभन्दा बढी अलपत्र परेर हालै स्वदेश फर्किएका मेचीनगर–१० का महेश राजबंशीले आफुहरुलाई दुबईको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनमा कार्पेन्टर काम दिने लिखित सम्झौता गरेर बेल्चा हान्ने काममा लगाउने प्रयास गरिएको बताउनुभयो ।

“कार्पेन्टरको काममा मासिक रु. ४० हजार मासिक तलब दिने भनेर लिखित सम्झौता पत्रमा हस्ताक्षर गराएर लगेको थियो,” पीडित महेश राजबंशीले भन्नुभयो–“दुबई पुगेपछि बेल्चा हान्ने काममा पो लगाउँछ । हामीले काम गर्दैनौं, स्वदेश फर्काउ भन्यौं । त्यो पनि सुन्न मानेन, धेरै धम्क्यायो ।”

सम्झौता बमोजिमको काम नपाएको गुनासो सुनाउँदा नेपालस्थित मेनपावर कम्पनीले उल्टै धम्क्याउँदै “गर्ने भए कम्पनीले जे अह्राउँछ त्यही काम गर, नगर्ने भए तिमीहरुको कुरा हामी केही पनि सुन्दैनौं” भनेको उहाँले बताउनुभयो । धेरै दवाव दिएपछि एकै लटका आठ जनामध्ये सात जना घर फर्किएको उहाँले जानकारी दिनुभयो ।

विदेश जाँदा मेनपावर कम्पनीले जनही रु. एक लाख ४० हजार शुल्क असुलेको थियो । सो रकम फिर्ता माग्दा कम्पनीले आनाकानी गरेको र जत्था लगाएर धम्क्याउन थालेको पीडितहरुले बताएका छन् ।

मेनपावर कम्पनीहरुले एउटाले पैसा असुलेर अर्कै कम्पनीमार्फत वैदेशिक रोजगारीमा मान्छे पठाउने गरेका छन् । दर्ता र अनुमति नभएका झोले मेनपावरहरुले मान्छे खोज्ने र पैसा असुल्ने धन्धा चलाउने र पठाउने बेलामा अर्कै मेनपावर प्रयोग गर्दै आएका हुन् ।

झापाका महेश राजबंशी, अकबर अन्सारी र राजकुमार ताजपुरियाले विर्तामोडको स्काई स्टार मेनपावर कम्पनीमा जनही रु. एक लाख ४० हजारका दरले रकम बुझाएका थिए । राजबंशीका अनुसार स्काई स्टार मेनपावरका सञ्चालकद्वय कुसुम लामा र राजु श्रेष्ठले सोही कम्पनीकी कर्मचारी रञ्जना राईको बैंक खातामा रकम जम्मा गर्न लगाएका थिए ।

पैसा बुझाएपछि उनीहरुलाई विर्तामोडकै अर्को मेनपावर कम्पनी सुनकोशीमा पुर्याइयो । सुनकोशीमार्फत उनीहरुलाई काठमाडौंको सागर रिक्रुटमेन्ट प्रालि पुर्याइएको थियो । सागर रिक्रुटमेन्टसँग रोजगार सम्बन्धी सम्झौता लगायतका सबै कागजी प्रक्रिया पूरा गरिएको थियो । 

“भनेजस्तो काम भएन भने एक हप्ताभित्र फर्काइदिन्छु भन्दै हामीलाई स्काई स्टार मेनपावरका कुसुम लामा र राजु श्रेष्ठले ग्यारेन्टी गर्नुभएको थियो,” पीडित राजबंशीले भन्नुभयो–“पछि त सुनकोशी हुँदै काठमाडौंको सागर रिक्रुटमेन्टमा पुर्यायो । हामीसँग पैसा भने स्काई स्टारले नै लियो ।”

पीडितले गुहारे प्रशासन

सम्झौता बमोजिमको काम नदिएर विदेशमा अलपत्र पार्ने मेनपावर कम्पनीहरुलाई कानूनी कार्वाही र विदेश जानु अघि असुलिएको रकम फिर्ता दिन माग गर्दै पीडितहरुले प्रशासन गुहारेका छन् ।

शुक्रबार झापाका महेश राजबंशी, राजकुमार ताजपुरिया र बलबहादुर राजबंशीले जिल्ला प्रशासन कार्यालय झापामा लिखित उजुरी दर्ता गराउनु भएको छ । उजुरी दर्ता गराउनेमा उर्लाबारीका राहुल शर्मा पनि हुनुहुन्छ ।

विदेश जानु अघि मेनपावर कम्पनीमा बुझाएको जनही रु. एक लाख ४० हजार रकम फिर्ता पाउनुपर्ने र दुई महिनासम्म कामविहीन बनाएर अलपत्र पारेको हुँदा त्यसको क्षतिपूर्ति समेत माग गर्दै जिल्ला प्रशासन कार्यालय झापामा आज निवेदन दिएको ताजपुरियाले बताउनुभयो ।

पीडितहरुमध्ये नुवाकोट ककनी–५ का हिमाल तामाङले वैदेशिक रोजगार विभागमै उजुरी दर्ता गराइसकेको बताउनुभयो । भद्रपुरका अकबर अन्सारीकी पत्नी अफ्रुज खातुनले पनि विभागमै उजुरी दिने बताउनुभएको छ ।