२० वैशाख २०८१, बिहिवार

मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत रेग्मीमाथि कार्यकक्षमै अभद्र व्यवहार

१५ पुष २०८०, आइतवार
Image

मेचीनगर, १४ पुस । मेचीनगर नगरपालिकामा ढुंगाबालुवा ठेक्का विवादलाई लिएर प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीमाथि अभद्र व्यवहार भएको छ । 

बिगत दुई वर्षदेखि मेचीनगर नगरपालिकाले ढुंगाबालुवाको ठेक्का लगाउन सकेको छैन । जसका कारण आन्तरिक आम्दानीको ठूलो स्रोत गुमाइरहेको छ । 

यही विषयमा विवाद बढ्दै जाँदा शुक्रवार मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत रेग्मीमाथि उहाँकै कार्यकक्षमा ठेकेदार राजकुमार थापाबाट अभद्र व्यवहार भएको हो ।

विहीवार नगरप्रमुख गोपाल बुढाथोकी र रेग्मीबीच चर्काचर्की परेको थियो । त्यसको भोलिपल्टै निर्माण व्यवसायी समेत रहेका ठेकेदार थापाले रेग्मीमाथि मुख छाड्दै हात हाल्ने प्रयास गरे । प्रत्यक्षदर्शीहरुका अनुसार अन्य कर्मचारीहरुले छेकेर नजोगाएको भए रेग्मीमाथि ठूलै आक्रमण हुनेथियो ।

उक्त घटना ढुंगाबालुवाको ठेक्कासँग सम्बन्धित थियो । विगतमा स्टकमा राखेको ढुंगाबालुवा उठाउने अनुमति नपाउँदा आक्रोशित भएर थापा अभद्र व्यवहारकै तहमा उत्रिएका थिए । 

घटनाको वास्तविकता नगरपालिकाले अहिलेसम्म सार्वजनिक गरेको छैन । तर, ठेकेदार थापामाथि कानूनी कार्वाहीको माग गर्दै प्रमुख प्रशासकीय अधिकृत रेग्मी उजुरी लिएर जिल्ला प्रशासन कार्यालय झापामा पुग्नु भएको छ ।

नगरको मेयर, प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारबीचको यो विवाद विषयमा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले हालसम्म कुनै कदम चाल्नु भएको छैन ।

“अभद्र व्यवहार भयो भन्ने कुरा आएको छ,” प्रजिअ बाँस्तोलाले शनिवार साँझ भन्नुभयो–“अहिले बिदा छ । कार्यालय खुलेपछि कस्तो निवेदन आएको रहेछ, हेरेर कार्वाही अघि बढाउँछौं ।”

उहाँले नगर प्रमुख बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत रेग्मीसँग आफु निरन्तर सम्पर्कमा रहेको बताउनुभयो ।

मेचीनगर नगरपालिकाका लेखा शाखा प्रमुख पदमबहादुर कार्कीले नगरप्रमुखको कार्यकक्षभित्र भएको अभद्र व्यवहारमा संलग्नमाथि कडाभन्दा कडा कार्वाही हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा धारणा व्यक्त गर्नुभएको छ ।

मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले कर्मचारीसँगको पटकपटकको विवादले मेचीनगर नगरपालिकाको विकास निर्माण कार्य प्रभावित भएको बताउनुभयो ।

“जनप्रतिनिधिका निर्णय र सिफारिस कर्मचारीहरुले रद्दीको टोकरीमा हालिदिन्छन्,” वडाध्यक्ष कार्की सामाजिक सञ्जालमा लेख्नुहुन्छ–“काम सुरु होला भन्ने सोच्दासोच्दै अनेक लफडा भएर जनताको काम ठप्प हुन्छ । यो परिस्थिति किन जन्मियो जडसहित नगरप्रमुखज्यूबाट सार्वजनिक होस् ।”