२० वैशाख २०८१, बिहिवार

स्वास्थ्य

मेरुदण्डको पहिलो अस्पताल विर्तामोडमा खुल्यो

१५ पुष २०८०, आइतवार
Image

झापा, १५ पुस । मेरुदण्ड (स्पाइन) सम्बन्धी नेपालमै पहिलो र ट्रमा उपचार सम्बन्धी कोशी प्रदेशकै पहिलो अस्पताल विर्तामोडमा खुलेको छ ।

दुई दशकदेखि चिकित्सा क्षेत्रमा अनुभवसिद्ध वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. प्रेमबहादुर शाहीको नेतृत्वमा रु. ३० करोडको प्रारम्भिक लगानीमा विर्तामोड–३ भगवानचोकमा स्पाइनेक्स सुपर स्पेसलिटी हस्पिटल एन्ड ट्रमा सेन्टर स्थापना भएको हो ।

हाडजोर्नी, नशा तथा मेरुदण्ड सम्बन्धी सबै विशेषज्ञ उपचार गरिने यो अस्पताल १५ शैयाको छ । एक वर्षपछि यसलाई विस्तार गरेर १०० शैयाको बनाइने अस्पतालका सञ्चालक डा. प्रेमबहादुर शाहीले बताउनुभयो ।

आज अस्पतालले पत्रकार सम्मेलन गरी अस्पतालको सेवा, सुविधा र आवश्यकताको बारेमा जानकारी दिएको छ । अस्पतालको औपचारिक उद्घाटन पुस १६ गते अर्थात् सन् २०२४ को नयाँ वर्षको अवसर पारेर सोमवार गरिने डा. शाहीले बताउनुभयो ।

अस्पतालको उद्घाटन नेपालका स्पाइन सम्बन्धी चिकित्सा क्षेत्रका पिता मानिनु भएका डा. बिनोद बिजुक्छेले गर्नु हुने भएको छ ।

उहाँले गुणस्तरीय र सर्वसाधारणको सहज पहुँच पुग्ने सुलभ दरमा उपचार सेवा दिने अस्पतालको लक्ष्य रहेको बताउनुभयो । 

अस्पतालमा सीटी स्क्यान, अत्याधुनिक ल्याब, क्याबिनसहितको डे–केयर सर्जिकल मेडिकल वार्ड लगायतको सुविधा क्रमशः उपलब्ध गराइने भएको छ । एमआरआई र सीटी स्क्यान सेवा भने केही पछि उपलब्ध हुने बताइएको छ ।

अस्पतालले कि–होल सर्जरी, जोर्नी प्रत्यारोपण, कम्प्लेक्स ट्रमा सर्जरी, बोन बायोप्सी, छिनेको हातखुट्टा जोड्ने उपचार लगायतका उपचार सेवा प्रदान गर्ने भएको छ ।

सोही अवसरमा बोल्दै अस्पतालका स्पाइन विशेषज्ञ डा.गौरव ढकालले स्पाइनेक्स सुपर स्पेसलटी हस्पितल सञ्चालनमा आएपछि हाडजोनी तथा मेरुदण्डको उपचारका लागि एमआरआई रिपोर्ट बोेकेर अब भारतको सिलिगुढी धाउनु पर्ने बाध्यताका अन्त्य भएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, महासंघका पूर्वकेन्द्रीय सदस्य मोहन काजी र वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. लक्ष्मीप्रसाद मैनालीले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । पत्रकार सम्मेलनको सञ्चालन पत्रकार बिजय बरालले गर्नु भएको थियो ।

सो अवसरमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ अस्प्तालका सञ्चालक डा. प्रेमबहादुर शाहीले दिनु भएको थियो । एक पश्नको उत्तर दिने क्रममा डा. शाहीले आगामी दिनमा आफ्नो सेवा यही अस्पतालबाट हुने बताउनुभयो । उहाँले यसअघि विर्तामोडको कनकाई हस्पिटलमार्फत सेवा दिदै आउनु भएको थियो ।