२० वैशाख २०८१, बिहिवार

मेयर र कार्यकारीबीचको झगडाले मेचीनगर तनावग्रस्त

१६ पुष २०८०, सोमवार
Image

मेचीनगर, १६ पुस । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीबीचको झगडाले मेचीनगर कार्यालय आज चार घण्टा तनावग्रस्त बन्यो ।

ढुंगाबालुवा सम्बन्धी मतभेदबाट सुरु भएको विवाद नाटकीय रुपले नगरको राजनीतिक र प्रशासनिक प्रमुखबीच गालीगलौजको अवस्थामा गिरेको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार आज विहान १०ः३० बजेतिर नगरप्रमुख बुढाथोकीको कार्यकक्षमा अधिकृत रेग्मी जानु भएको थियो । त्यहाँ विवाद बढ्दा रेग्मीले बुढाथोकीमाथि मुख छाडेको बताइएको छ ।

नगरप्रमुख बुढाथोकीमाथि अधिकृत रेग्मीले मुख छाडेरै अभद्र व्यवहार गरेको खबर फैलिएपछि बुढाथोकीको समर्थनमा ठूलो भीड नगरपालिकामा जम्मा भयो । त्यसपछि ट्याक्टर व्यवसायी र बुढाथोकीका समर्थकहरुको भीडले दूव्र्यवहारप्रति विरोध जनाउँदै रेग्मीविरुद्ध नाराबाजी गरे ।

मेचीनगरमा विवाद चुलिएसँगै बिगत चार दिनदेखि प्रहरीको ठूलो संख्या सुरक्षा बन्दोबस्तका लागि परिचालन हुँदै आएको थियो ।

उत्तेजित भीडले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तोडफोड र रेग्मीमाथि आक्रमण गर्ने सम्भावना बढेपछि प्रहरी टोलीले रेग्मीलाई बलियो सुरक्षा घेरामा राखेर कार्यालयबाट बाहिर लगेको थियो ।

रेग्मीले पनि नगरप्रमुख बुढाथोकीसँगको विवादपछि मूलगेटमा कर्मचारी समर्थक भेला गरेर बुढाथोकीविरुद्ध भाषणबाजी गर्नु भएको थियो ।

उहाँले भाषण गर्ने क्रममा काम गर्न दिएनन् भनेर जहिल्यै नगरप्रमुखबाट कर्मचारीमाथि दोषारोपण हुने गरेको आक्रोश व्यक्त गर्नुभएको थियो । उहाँले कर्मचारीहरुले कार्यालयमा काम गर्दा सुरक्षित हुने अवस्था नरहेको गुनासो गर्नु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी र इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपीले पनि राम्रो रेस्पोन्स नगरेको उहाँको गुनासो थियो ।