२० वैशाख २०८१, बिहिवार

ऋण काढेर उपचार गर्दै हात्तीपीडित घाइतेहरु

१८ पुष २०८०, बुधवार
Image

झापा, १८ पुस  हात्तीको आक्रमणमा परेका विपन्न परिवारका घाइतेहरु ऋण काढेर उपचार गर्न बाध्य भएका छन् । सरकारले दिने उपचार सहयोग न्यून र झञ्झटिलो भएको पीडितहरुको गुनासो छ ।

मेचीनगर–२ बाहुनडाँगीका ४२ वर्षीय गोपाल रिजाललाई गत कात्तिक १९ गते घाँस काट्न जाँदा जंगली हात्तीले आक्रमण गरेर गम्भीर घाइते बनायो । उहाँको छातीको १० वटा करङ भाँचिएको थियो भने फोक्सोमा रगत जमेको थियो ।

डेढ महिना विर्तामोडको बीएन्डसी हस्पिटलमा उपचार गराउँदा रु. २२ लाखको बिल तिर्नु पर्यो । उहाँलाई २२ दिन सघन उपचार कक्ष (आइसीयू) राखेर उपचार गर्नु परेको थियो भने पटकपटक शल्यक्रिया गर्नुपरेको गोपाल बचाउ अभियानका सदस्य कल्याण काफ्लेले बताउनुभयो ।

उपचारपछि ह्वीलचियरमा बस्न सक्ने हुनुभएको उहाँ हालै घर फर्किनु भएको छ । एक कोठे सानो झुपडीमा एक्लै बस्दै आउनु भएको उहाँसँग उपचार खर्च व्यहोर्ने सामथ्र्य थिएन । अलग घरमा बस्दै आएका दुई जना भाइले विदेशमा कमाएर घर बनाउने भनेर ल्याएको रकम उहाँको उपचारमा खर्च गरेको काफ्लेले बताउनुभयो । 

“गाउँमा तीन लाख जति चन्दा उठ्यो,” काफ्लेले भन्नुभयो–“भाइले ल्याएको सबै रकम लगाउँदा पनि नपुगेपछि आफन्त र छिमेकीहरुबाट लाखौं रकम ऋण लिइएको छ ।” उपचारपछि पुनजीवन पाउनु भएको रिजाललाई अब कसरी ऋण तिर्ने भन्ने चिन्ता थपिएको छ । कुनै पनि सरकारी कोषबाट उहाँले हालसम्म उपचार सहयोग पाउनु भएको छैन । 

मेचीनगर–११ कालिका टोलकी संगीता निरौला र उहाँका पति मेघनाथ निरौला गत मंसिर २८ गते आफ्नै घरको आँगनमा हात्तीको आक्रमणमा परी घाइते हुनुभयो । चटपटे बेचेर दैनिक गुजारा चलाइरहेको निरौला दम्पत्तिको उपचार गर्न छिमेकी र आफन्तसँग रु. २६ हजार ऋण काढ्नु परेको थियो ।

रातको डेढ बजे गहिरो निन्द्रामा भएका बेला हात्तीले घरमा आएपछि ज्यान जोगाउन भाग्ने क्रममा निरौला दम्पत्ति हात्तीको आक्रमण पर्नु भएको थियो । ‘हात्तीले घरमा आक्रमण गर्यो भाग् भाग्’ भनेर गाउँलेले चर्को आवाजले चिच्याएको सुनेपछि व्युँझिएर पति मेघनाथ निरौलालाई डोहोर्याउँदै कोठाबाट बाहिर निस्किदा आँगनमै हात्तीले झम्टेर भुइँमा पछारेको घाइते संगीताले बताउनुभयो ।

संगीताका पति मेघनाथ दुईवटै आँखा देख्नुहुन्न । हात्तीले दुबैलाई सुँढले बेरेर भुइँमा पछार्दा दम्पत्ति नै बेहोश भएका थिए । हात्ती हिँडेपछि गाउँलेले उद्धार गरेर उहाँहरुलाई नजिकको मेची आम्दा अस्पताल पुर्याएका थिए ।

“आत्तिएर भाग्ने क्रममा थियौं, अगाडि हात्ती उभिइरहेको रहेछ,” आँगन छिचोल्न नपाउँदै हात्तीले झम्टेको घटना बारे जानकारी दिदै संगीताले भन्नुभयो–“सुँढले च्याप्प समातेको थाहा छ, त्यसपछि एकैचोटी आम्दा अस्पतालमा मात्र हाम्रो होश खुलेको थियो ।”

हात्तीको आक्रमणमा मुस्किलले ज्यान जोगाएका निरौला दम्पत्तिलाई ऋण कसरी तिर्ने भन्ने तनाव भएको छ । आफ्नो जग्गा नभएका उहाँहरु झापाकै एउटा विद्यालयको १७ धुर जग्गामा वार्षिक ठेक्का तिर्ने शर्तमा बस्दै आउनु भएको छ । टिनले छाएको भुइँतले दुई कोठाको घर छ । 

मेघनाथ न्यून दृष्टिका कारण दुबै आँखा देख्न सक्नुहुन्न । संगीताले नजिकको कालिका सिमसार पर्यटकीय क्षेत्रमा चटपटे बेचेर दम्पत्तिको गुजारा चलाइरहनु भएको छ । घाइते भएयता हिँडडुल गर्न नसक्ने भएकाले चटपटे बेच्न जान नपाउँदा दैनिक गर्जो टार्नै मुस्किल परिरहेको संगीताको भनाई छ ।

धुलाबारीको मेची आम्दा र भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचार गरेर निरौला दम्पत्ति अहिले घर फर्किनु भएको छ । संगीताको कम्मर र मेरुदण्डमा असर परेको छ भने दुबै खुट्टाको लिगामेन्ट च्यातिएको चिकित्सकहरुले बताएका छन् । मेघनाथको खुट्टामा भित्री चोट छ । आर्थिक अभावले वैशाखी समेत किन्न नसकेको उहाँहरुले बताउनुभयो ।

हात्तीपीडित घाइतेहरु उपचारमा ठूलो धनराशी खर्च भएका कारण बिचल्लीमा परेका छन् । उपचार सहयोग पाउन सरकारी अस्पतालमा उपचार गराएको हुनुपर्ने नियमप्रति पीडितहरु असन्तुष्ट छन् ।

स्थानीय शान्तिराम कडरिया हात्तीपीडित घाइतेहरुको उपचारमा सरकारी सहयोग ज्यादै झञ्झटिलो र अपर्याप्त भएको बताउनुहुन्छ । सरकारी अस्पतालमै उपचार गरेको हुनुपर्ने नियम अव्यावहारिक रहेको उहाँको भनाई छ ।

“कसरी घाइतेको ज्यान बचाउने भन्ने चिन्ता हुन्छ, सरकार चाहिँ उपचार खर्च लिने भए सरकारी अस्पतालमा जाउ भन्छ,” चिमरिया भन्नुहुन्छ–“सिंहदरवार गाउँमै आएको अनुभूति सर्वसाधारणले पाउने गरी पीडितहरुको उपचार स्थानीय सरकारले नै व्यहोर्ने व्यवस्था हुनुपर्छ । बिल भर्पाइ बोकेर बन कार्यालय धाउने झञ्झट हट्नु पर्छ र वडाबाटै उपचार रकम पाउने व्यवस्था मिलाउनु पर्छ ।”

बिगत दुई महिनामा झापामा हात्तीको आक्रमणमा चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको डिभिजन बन कार्यालय झापाका प्रमुख मेघराज राईले बताउनुभयो ।

सरकारले बन्यजन्तुको आक्रमणमा मृत्यु भएकालाई रु. दश लाख दिने र घाइते भएमा अवस्था हेरेर रु. २० हजारदेखि रु. दुई लाखसम्म उपचार खर्च व्यहोर्ने गरेको छ । घाइतेको उपचार खर्च पाउन सरकारी अस्पतालमा उपचार गराएको हुनुपर्ने नियम छ भने अस्पतालको बील भपाईसहित निवेदन दिएको लामो समयपछि मात्र उपचार रकम पीडितले पाउने गरेका छन् ।

हात्तीले आक्रमण गरेको ३५ दिनभित्र पीडितले डिभिजन बन कार्यालयमा उपचारको बीलसहित निवेदन दिइसक्नु पर्ने राईले बताउनुभयो । बालीको क्षति पनि सरकारले व्यहोर्ने गरेको छ ।