२० वैशाख २०८१, बिहिवार

ऋण काढेर उपचार गरेका हात्तीपीडित घाइतेलाई पौडेल दम्पत्तिको सहयोग

१८ पुष २०८०, बुधवार
Image

मेचीनगर, १८ पुस । हात्तीको आक्रमणमा परी ऋण काढेर उपचार गराउनु भएको मेचीनगर–११ कालिका टोलका निरौला दम्पत्तिलाई आर्थिक सहयोग जुट्न थालेको छ ।

गत मंसिर २८ गते राति डेढ बजेतिर आँगनमै निरौला दम्पत्ति (संगीता निरौला र मेघनाथ निरौला)लाई हात्तीले लपेटेर भुइँमा पछार्दा दुबै जना घाइते हुनु भएको थियो ।

चटपटे बेचेर गुजारा चलाउँदै आउनु भएको उहाँहरु स्थानीय विद्यालयको १७ धुर जग्गा ठेक्कामा लिएर बस्दै आउनु भएको थियो । उपचारका लागि उहाँहरुले छिमेकी र आफन्तसँग रु. २६ हजार ऋण लिनु भएको थियो ।

उहाँहरुको दयनीय अवस्थाको बारेमा लोकतन्त्र पोस्ट लगायतका सञ्चारमाध्यमहरुमा समाचार प्रकाशित भएपछि मेचीनगर–९ धुलाबारीकी झम्कादेवी ढुंगाना र डम्बरुबल्लभ पौडेलले रु. पाँच हजार आर्थिक सहयोग गर्नु भएको छ ।

“पति आँखा नदेख्ने र पत्नीले चटपटे बेचेर गुजारा चलाउँदै आएको अति विपन्न दम्पत्तिलाई हात्तीले घाइते बनाएपछि ऋण काढेर उपचार गराएको समाचार पढेपछि आँखा रसायो,” साहित्यकार पौडेलले भन्नुभयो–“पीडितको चोटमा अलिकति भए पनि मह्लमपट्टि लागोस् भनेर सानो सहयोग गरेका हौं ।”

उहाँहरुले उक्त सहयोग आफ्ना मातापिताको स्मृतिमा स्थापित रुद्र–रुक्मा पौडेल स्मृति कोषका तर्फबाट  प्रदान गरिएको बताउनुभयो ।

कालिका सिमसार नजिकै रहेको घरमा बस्दै आउनु भएको घाइते परिवारको अवस्था बुझ्न वडा र नगरपालिका कार्यालयबाट कोही पनि सरोकारवाला प्रतिनिधि हालसम्म जानु भएको छैन ।

पौडेल परिवारले प्रदान गरेको उक्त सहयोग रकम राससकी झापा समाचारदाता अम्बिका भण्डारीले निरौला दम्पत्तिलाई घरै पुगेर हस्तान्तरण गर्नु भएको छ ।