२० वैशाख २०८१, बिहिवार

झापाका सबै वडामा सहरी सुविधा

२० पुष २०८०, शुक्रवार
Image

बिर्तामोड, पुस २० । झापाका अधिकांश वडा सहरोन्मुख रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । झापा कोशी प्रदेशमा ग्रामिण जनसंख्या कम भएको दोश्रो जिल्लामा परेको छ । 

झापा जिल्लाका १३१ वटा वडाहरुमध्ये १०८ वटा वडा सहरोन्मुख क्षेत्रमा परेका छन् । त्यस्तै, १५ वटा वडा शहरी र आठवटा वडा ग्रामीण क्षेत्रमा परेका छन् ।

तथ्यांकअनुसार बाह्रदशी, बुद्धशान्ति गौरादह र कचनकवलका एकएक तथा हल्दिबारी र गौरीगञ्जका दुईदुईवटा वडा ग्रामीण क्षेत्रमा परेका छन् ।

११ औँ राष्ट्रिय जनगणना २०७८ को पुरक प्रतिवेदनका रुपमा राष्ट्रिय तथ्यांक कार्यालयले सहरी र ग्रामीण क्षेत्र र त्यहाँको जनसंख्यासहित सार्वजनिक गरेको प्रतिवेदनले त्यस्तो देखाएको हो ।

प्रतिवेदन अनुसार झापा जिल्लामा ४ दशमलव ४२ प्रतिशत मानिस ग्रामीण क्षेत्रमा, ७६ दशमलव ६ प्रतिशत सहरोन्मुख क्षेत्रमा र १८ दशमलव ९५ प्रतिशत मानिसहरु सहरी क्षेत्रमा बसोबास गर्दछन् ।

प्रतिवेदनमा नेपाललाई सहरी, सहरोन्मुख र ग्रामीण क्षेत्र गरेर वडागत वर्गीकरण गरिएको छ । भू–उपग्रहबाट प्राप्त चित्र र पछिल्लो जनगणनाबाट प्राप्त तथ्यांकलाई समायोजन गरी वैज्ञानिक विधिबाट वर्गीकरण गर्दा यस्तो पाइएको छ ।

कोशी प्रदेशमा सबैभन्दा कम ग्रामीण जनसंख्या भएको जिल्लामा सुनसरी परेको छ ।