२० वैशाख २०८१, बिहिवार

साेह्र केजीको फल्याे सिमल तरुल

२१ पुष २०८०, शनिवार
Image

झापा, २१ पुस ।  कमल गाउँपालिका वडा नं. २ का कृषक कर्णबहादुर गुरुङले १६ केजी पाँच सय ग्रामको सिमल तरुल फलाउनु भएको छ । सामान्यतया सिमल तरुल दुई सय ग्रामदेखि एक केजीसम्मको फल्ने गर्दछ ।

पालिकाका अध्यक्ष हुकुमसिंह राईले विहीबार गुरुङको खेतबारीमै पुगेर उक्त सिमल तरुल अवलोकन गरेपछि प्रोत्साहन स्वरुप रु. दुई हजार पाँच सय पुरस्कार प्रदान गर्नुभएको छ । गुरुङले फलाएको मिसल तरुल सेतो अजिंगर जस्तो भान हुन्छ ।

गुरुङले आफ्नै करेसाबारीमा फलाउनु भएको उक्त सिमल तरुलको तौल १६ केजी र लम्बाई आठ फिट पाँच सय मिटर रहेको पालिकाका कृषि शाखा प्रमुख महेन्द्रकुमार बोहोराले जानकारी दिनुभयो । पालिकाका अध्यक्ष राई, कृषि शाखा प्रमुख बोहोरालगायत जनप्रतिनिधिहरु समेत आज उहाँको घरमा तरुल हेर्न जानुभएको थियो ।

घरायसी उपभोगका लागि सिमल तरुल खेती गरेको जनाउँदै कृषक गुरुङले खाजा खान खन्ने क्रममा यति ठूलो तरुल फेला परेको बताउनुभयो । “घरमै खान भनेर बिरुवा लगाएको थिएँ”, उहाँले भन्नुभयो, “यत्रो ठूलो फलेको देख्दा म आफैं छक्क परें ।”

कृषि शाखाका प्रमुख बोहोराले यति ठूलो र लामो सिमल तरुल आफुले जीवनमा पहिलोपटक फलेको देखेको बताउनुभयो । उहाँका अनुसार गुरुङको खेतीमा बलौटे दुमट माटो भएकोले तरुल प्रजातिको खेती अति फस्टाउँछ । गुरुङले तरुल खेतीमा गोबर मल मात्र प्रयोग गरेको बताउनुभयो ।

सामान्य खेतीपाती र गाईवस्तु पालेर जीविकोपार्जन गर्दै आउनुभएका गुरुङको घरमा तरुल हेर्नका लागि गाउँलेहरुको भीड लागेको छ । उहाँलाई पालिकाले समेत व्यावसायिक रुपमा सिमल तरुलको खेती गर्न आग्रह गर्दै त्यसका लागि अग्र्यानिक मल र अनुदान उपलब्ध गराउने बचन दिएको छ ।