३० वैशाख २०८१, आइतवार

सोह्र वर्षदेखि मलेसियामा बेपत्ता

२३ पुष २०८०, सोमवार
Image

झापा, २३ पुस । वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया जानु भएको अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहिन हुनुुहुन्छ । उहाँ २०६० सालमा २२ वर्षको उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया जानु भएको थियो । 

“२२ वर्षको हुँदा मलेसिया गएको थियो,” बिनोदकी ६६ वर्षीया आमा सुकमाया विश्वकर्माले भन्नुभयो–“अहिले ४२ वर्ष उमेरको भयो । कहाँ छ, के गर्दैछ, केही अत्तोपत्तो छैन ।”

उहाँ मलेसिया गएपछि चार वर्षसम्म परिवारको सम्पर्कमा हुनुहुन्थ्यो । बिनोदका दुई भाइ र दुई बहिनी छन् । माइला भाइ भीम घरमा आमा–बुबाको हेरचाह गरेर बस्नु भएको छ भने कान्छा भाइ टेकबहादुर विदेश जाने क्रममा हुनुहुन्छ । दुईजना बहिनीहरु रुमा र लीलाको विहे भइसकेको छ ।

बिनोदका ७१ वर्षीय वुवा वीरबहादुर विश्वकर्मा घरमै हुनुहुन्छ । “१६ वर्ष अघि म बिरामी परेका बेला एकपटक कस्तो छ बुवा भनेर सोधेको थियो, त्यसपछि खुटखबर छैन”–उहाँले भन्नुभयो ।

सुकमायाले रु. ९० हजार ऋण काढेर बिनोदलाई आफ्नै भाइ नरबहादुर र स्थानीयबासी विकास सुब्बा (डोले) मार्फत काठमाडौँको मेनपावरबाट मलेसिया पठाएको बताउनुभयो । उहाँले मलेसिया गएपछि विनोदले रु. ९० हजार ऋण तिर्ने पैसा र आमाबुवाको उपचारका लागि थप रु. २० हजार पठाएको बताउनु भयो । 

आमा सुकमाया र बुवा बीरवहादुरले छोरा जहाँ, जस्तो अवस्थामा भए पनि खोजी गरिदिन सबैलाई आग्रह गर्नु भएको छ । स्थानीय हरिचन्द्र राउतले नौ वर्षअघि मलेसियामा बिनोदसँग भेट भएको बताउनु भएको छ । त्यसबेला बिनोदले पेनाङस्थित बल्छी बनाउने कम्पनीमा काम गरिरहेको आफुलाई बताएको हरिचन्द्रले बताउनु भयो ।

मलेसियामा हरिचन्द्र र विनोदको कोठा नजिकै रहेको थियो । उहाँहरुको रासन खाने ठाउँ एउटै थियो । विनोदसँग त्यहीँ भेट भएको हरिचन्द्रले बताउनुभयो । अवधि पुगेर हरिचन्द्र स्वदेश फर्कनुभयो । विनोद कुन मेनपावर कम्पनीमार्फत मलेसिया जानु भएको थियो भन्ने बारेमा उहाँका बुवा र आमाले बताउन सक्नु भएन । तर, मेनपावर कम्पनीसम्म पुर्याउने नातेदारले मेनपावरसँग सम्पर्क गराउने आश्वासन दिएको बताइएको छ ।