६ जेठ २०८१, आइतवार

विद्यालय नजिक सुर्तीजन्य पदार्थ बेचविखन रोक्न बाल क्लवको अभियान

२५ पुष २०८०, बुधवार
Image

झापा, २५ पुस । विद्यालयको सय मिटर दूरीभित्रका पसलमा सुर्तीजन्य पदार्थको विक्री वितरण रोक्न यहाँको बाल क्लवले अभियान सञ्चालन गरेको छ ।

मेचीनगर नगरपालिका वडा नं. १५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालय र त्यहाँ गठित जागृति बाल क्लवले उक्त अभियान सुरु गरेको हो ।

विद्यालय वरपरका पसलहरुमा सुर्तीजन्य पदार्थको खुला विक्री वितरण भइरहेको कारण त्यसबाट बालबालिकामा नकारात्मक असर परेको क्लबका अध्यक्ष निकेश करुवाले बताउनुभयो ।

क्लवले र्यालीको आयोजना गरी पसलहरुमा गएर सुर्तीजन्य पदार्थ विक्री वितरण नगर्न अपिल गरेको छ । पसलहरुमा सुर्तीजन्य पदार्थको विक्री वितरण बन्द गरिएको छ कि छैन भनेर अनुगमन समेत गरिरहेको क्लबले उहाँले बताउनुभयो । 

विद्यालय नजिक दर्जनौं संख्यामा पसलहरु सञ्चालनमा रहेका छन् । कतिपय पसलमा मदिराको समेत विक्री भइरहेको गुनासो आएको क्लवका सदस्यहरुले बताएका छन् । 

“विद्यालयमा अध्ययनरत स–साना विद्यार्थीहरूले अत्याधिक मात्रामा भोला, गुड्खा, पराग, मुस्कान, मेघाश्री, राजनिवास जस्ता सुर्तीजन्य पदार्थहरू सेवन गर्ने गरेको पाइएकाले विद्यालय हातादेखि १०० मिटरको दूरीभित्र रहेका पसलहरूमा विक्रीवितरण नगरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं,” क्लवले गरेको सार्वजनिक अपिलमा भनिएको छ–“विद्यालय पोशाकमा रहेका विद्यार्थीहरूलाई पसलहरूले पनि सुर्ती तथा सुर्तीजन्य पदार्थ एवम् मादकपदार्थ विक्रीवितरण नगरिदिनु हुन हार्दिक अपिल गर्दछौं ।”

विद्यालय पोशाकमा विद्यालय बाहिर विकृतिजन्य क्रियाकलापमा संलग्न विद्यार्थीहरु देख्नु वा भेटनु भएमा तुरुन्त विद्यालयमा खबर गरिदिन समेत क्लवले अपिल गरेको छ ।

कानूनमै विद्यालयको एक सय मिटरको दूरीभित्र सुर्तीजन्य पदार्थको विक्री वितरण गर्न नपाइने उल्लेख भएकाले त्यसको कडाइका साथ कार्यान्वयन गर्न अभिभावकहरुबाट समेत दवाव आइरहेको विद्यालयका प्रधान अध्यापक शान्तिराम चम्लागाईले बताउनुभयो ।