६ जेठ २०८१, आइतवार

पूर्वी तराईमा लोकप्रिय बन्दै ‘भाक्का’

२७ पुष २०८०, शुक्रवार
Image

झापा, २७ पुस । पूर्वी तराईको झापा र मोरङका आदिबासी राजबंशी समुदायमा भाक्का खाने प्रचलन धेरै पुरानो छ । धानको पिठोबाट बनाइने भाक्का पोषिलो, स्वादिलो र अडिलो हुन्छ । अचेल यो रैथाने परिकार पूर्वी तराईको लोकप्रिय खानेकुरा भइसकेको छ ।

पुस माघको ठण्डी मौसममा राजबंशी महिलाहरु हुरहुरी बाफ उड्ने तातो खाजाको रुपमा भाक्का बनाउने गर्दछन् । यसको स्वादले पहाडबाट बसाई सरेर आएका तराईका क्षेत्री, बाहुन, राई, लिम्बु लगायतका अरु समुदायलाई समेत आकर्षित गरेको छ । राजबंशी मात्र होइन, मेचे, धिमाल, ताजपुरिया र थारु महिलाहरु समेत भाक्का बनाउँछन् ।

झापाको ग्रामीण बस्तीमा महिलाहरु सानो माटाको हण्डीमा पानी उमालेर बाफमा विहान झिसमिसेदेखि नै सडक किनारमा बसेर भाक्का पकाउने र बेच्ने गर्छन् । सहरका गल्लीहरुमा पनि भाक्का पसलहरु बढ्दै गएका छन् । ठूला फाइभ स्टार होटलदेखि साना चिया पसलहरुमा विहानीको रैथाने खाजाको रुपमा भाक्काको बजार दिनानुदिन विस्तार भइरहेको छ ।

“भाक्का राजबंशी समुदायको मौलिक परिकार हो,” साहित्यकार पवन राजबंशी भाक्का बारे जानकारी दिदै भन्नुहुन्छ–“पानीको बाफमा पकाइने र कुनै प्रकारको मिसावट नहुने भएकाले भाक्का खानु स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ । आदिबासी समुदायको भान्सामा पाकेको भाक्काले अब राष्ट्रिय पहिचान पाइसकेको छ ।” 

सयौं वर्षअघि पूर्वी तराईको जंगलबीचको उब्जाउ जमिनमा राजबंशी समुदायको बसोबास भएको मानिन्छ । कहिलेदेखि भाक्काको प्रचलन सुरु भयो भन्ने यकिन नभए तापनि राजबंशी समुदायको थातथलो विस्तारसँगै रैथाने परिकारको रुपमा भाक्का खाने चलन झापा र मोरङमा सुरु भएको मानिन्छ ।

भाक्का बनाउन धानको चामललाई पीठो बनाएर सानो आकारको बटुकामा राखेर बाफमा केहीबेर पकाइन्छ । चिया र अचारसँग खाँदा भाक्का झनै स्वादिलो हुने पत्रकार आत्माराम राजबंशी बताउनुहुन्छ । माछासँग पनि भाक्काको स्वाद निखारिने उहाँले बताउनुभयो ।

बिगत सात वर्षदेखि हरेक वर्षको पुस २९ गते झापामा भाक्का दिवस मनाउन थालिएको छ । भाक्काको पहिचान स्थापित गर्न र पर्यटन प्रवर्धन गर्न दिवसको अवधारणा अघि सारिएको राजबंशी भाषा विकास समितिका अध्यक्ष अभय राजबंशीले बताउनुभयो ।

यसपाली भद्रपुरको सिटी गार्डेन र विर्तामोडको डोमालाल रंगशालामा भाक्का दिवस कार्यक्रमको आयोजना गरिएको छ । त्यहाँ राजबंशी समुदायको सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने भएको छ ।

विर्तामोडको कार्यक्रममा १५० जना राजबंशी महिलाले दुई हजार किलोग्राम चामलको पिठोबाट भाक्का बनाउने भएका छन् । ख्यातिप्राप्त मास्टरसेफ सन्तोष राजबंशीलाई समेत कार्यक्रममा आमन्त्रण गरिएको बताइएको छ ।

पुस २९ गते नै भद्रपुरमा राजबंशी समाज विकास समितिले दिवसको अलग कार्यक्रम आयोजना गरेको समितिका अध्यक्ष उत्तम राजबंशीले बताउनुभयो । कार्यक्रममा भारतबाट समेत कलाकारहरुको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।

आदिबासी समुदायको साझा परिकारको रुपमा भाक्काले पहिचान बनाए तापनि राजबंशी समुदायको मौलिक खानेकुरा भएकाले राजबंशी समुदायका अगुवाहरु नै भाक्काको प्रचार प्रसारमा जुटेका छन् । भाक्का दिवस पनि राजबंशी समुदायकै अग्रसरतामा मनाउन थालिएको हो ।

झापाको कचनकबल गाउँपालिकाले पुस २९ गते भाक्का दिवसको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको छ । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनालीले उक्त दिन पालिकाका सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालय, गाउँपालिका लगायतका सरकारी कार्यालयमा विदा हुने बताउनुभयो ।