६ जेठ २०८१, आइतवार

हात्ती धपाउन स्थानीयवासीलाई साइरन

५ माघ २०८०, शुक्रवार
Image

झापा, ५ माघ । दैनिक जसो गाउँ पसेर जंगली हात्तीले आतंक मच्चाउन थालेपछि शिवसताक्षी नगरपालिका–८ ले सो क्षेत्रका बासिन्दालाई हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ ।

जंगली हात्तीले स्थानीयवासीको दैनिक गाउँ पसेर घर भत्काउने, अन्नबाली नष्ट गर्ने र मान्छेलाई नै आक्रमण गर्न थालेपछि वडाले हात्ती धपाउन विहीबार १० थान साइरन वितरण गरेको हो । 

वडाध्यक्ष सन्त फेउदिनले राजमार्गको उत्तरतर्फबाट रतुवामाई बृक्षारोपण आयोजना हुँदै झिलझिले, डुँडामारी र धरमपुर चोकबाट गाउँ पसेर हात्तीले स्थानीयवासीको घर भत्काउने, अन्नबाली नष्ट गर्ने गरेको बताउनुभयो । 

उहाँले सो क्षेत्रमा धेरै जनधनको क्षति भएका कारण हात्ती धपाउनका लागि साइरन वितरण गरिएको जानकारी दिनुभयो । जंगली हात्ती दैनिक गाउँ पसेर घर भत्काउने, बाली नाली नष्ट  गर्न थालेपछि वडाले हात्ती प्रवेश गर्ने क्षेत्रका नागरिकलाई १० थान साइरन वितरण गरेको हो । “साइरन बजेपछि हात्ती गाउँ प्रवेश गरेको स्थानीयवासीलाई जानकारी हुन्छ र सतर्कता अप्नाउँछन्”, उहाँले भन्नुभयो, “साइरनको आवाजले हात्ती पनि भाग्छ ।” 

उहाँले तत्काल जंगल छेउका नागरिकलाई साइरन वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार शिवसताक्षी नगरपालिकाको उत्तर क्षेत्रको जंगलमा हाल १० वटा हात्ती रहेका छन् । उहाँले सो क्षेत्रका बासिन्दालाई साइरनसँगै आठ थान टर्च लाइट समेत वितरण गरेको बताउनुभयो । 

गएको दुई महिनादेखि शिवसताक्षीको वडा नं. १, ८,९,१०र ११ वडाका जंगलसँग जोडिएका क्षेत्रमा हात्तीले आतंक मच्चाउँदै आएको छ । हालसम्म शिवसताक्षीमा मात्र जंगली हात्तीको आक्रणबाट दुई बर्षमा तीन जनाको ज्यान गइसकेको छ ।