६ जेठ २०८१, आइतवार

दोमुखामा पर्यटकको लर्को

५ माघ २०८०, शुक्रवार
Image

झापा, ५ माघ । शिवसताक्षी नगरपालिका–९ को कनकाई नदीको किनारमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा वनभोज खाने तथा घुमफिर गर्ने आन्तरिक र बाह्य पर्यटकको दैनिक लर्को लाग्न थालेको छ । 

कोशी प्रदेशकै प्रमुखमध्येको पर्यटकीय गन्तव्य स्थानको रुपमा रहेको दोमुखामा जाने सडक कालोपत्रे भएसँगै पर्यटकको थप आकर्षण बढेको हो ।

दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर लावतीका अनुसार सडक, खानेपानीलगायतका सुविधाका कारण विगत बर्षमा भन्दा यस बर्ष पर्यटक आगमन बढी भइरहेको छ ।

उहाँले कार्तिक पहिलो हप्तादेखि सुरु भएको पर्यटकको चलपहल हाल खचाखच हुने गरेको बताउनुभयो । उहाँका अनुसार दैनिक २० देखि ३० वटा सम्म बनभोज खानेको टोली दोमुखामा आउने गरेका छन् । “विदा र शनिवारका दिन पिकनिक स्पटदेखि खोला किनार सबै भरिन्छन्”, उहाँले भन्नुभयो, “यसबाट आउने शुल्क समेत राम्रै संकलन हुने गरेको छ ।”

पूर्वपश्चिम राजमार्गको माईधार चोकदेखि चुरे क्षेत्रसँग जोडिएको दोमुखासम्मको दुई किलो नौ सय मिटर सडक कालोपत्रे भएको छ । जसका कारण यस स्थानमा आउने पर्यटकलाई सहज भएको उहाँको भनाई छ । दोमुखा क्षेत्रमा अवलोकन गर्न र बनभोज खानका लागि इलाम, मोरङ, सुनसरी, छिमेकी मुलुक भारतको दार्जीलिङ, मिरिक, सिलगुढीलगायतका स्थानबाट पर्यटकहरु आउने गरेका छन् । 

उहाँले पिकनिक खान आउनेहरुबाट रु. पाँच सय देखि रु. तीन हजारसम्म शुल्क लिने गरेको बताउनुभयो । दोमुखा पर्यटकीय क्षेत्रमा वालउद्यान र बहुजातीय संग्रहालय, स्वीमिङपुल, झोलुङे पुल रहेको जानकारी दिनुभयो । अध्यक्ष लावतीले चुरे क्षेत्रसँग जोडिएको मनोरम क्षेत्र दोमुखामा दर्जनौँ नेपाली चलचित्र तथा म्युजिक भिडियोसमेत छायाँकन हुने गरको बताउनुभयो ।

उहाँका अनुसार शिवसताक्षी नगरपालिकाको सबैभन्दा बढी खाने बस्ने सुविधा सम्पन्न होटलहरु यही क्षेत्रमा बढी रहेका छन् ।