२१ वैशाख २०८१, शुक्रवार

पत्रकारितामा दलीयकरण बढ्दै गएकोमा अग्रजहरु चिन्तित

५ माघ २०८०, शुक्रवार
Image

झापा, ५ माघ । नेपाल प्रेस इन्स्टिच्यूटका अध्यक्ष तिर्थ कोइराला, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तारा बराल र प्रकृति अधिकार अभियन्ता श्रवण शर्माले पत्रकारितामा दलीयकरण बढेकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।

पार्टीको आस्थामा विभाजित भएर पत्रकारिता गर्दा समाचारका कन्टेन्टहरु नेताका भाषणमा केन्द्रित भएको टिप्पणी गर्दै उहाँहरुले राजनीति बाहेकका विषयमा समेत कलम चलाउनु पर्नेमा साझा धारणा व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ झापाले उहाँहरुको सहजिकरणमा आज बिर्तामोडमा ‘पत्रकारिताका परिवर्तित क्षेत्रहरु’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

अग्रज पत्रकार बरालले झापाका पत्रकाहरुलाई पार्टी पत्रकारिता त्याग्न आह्वान समेत गर्नुभयो  । आफुले गोरखापत्रको सम्पादक छँदै पार्टीको सदस्यता त्यागेको र उप्रान्त दलको सदस्यता नलिएको बताउनुभयो ।

प्रकृति अधिकार अभियन्ता शर्माले मानव जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको जलवायु परिवर्तन र त्यसका असरहरु अबको पत्रकारिताको विषय बन्नु पर्ने सुझाव राख्नुभयो ।

अग्रज पत्रकार कोइरालाले अहिले पुँजी र प्रविधिले पत्रकारलाई किचेको चर्चा गर्दै पत्रकारिताको परम्परागत शैलीमा कुनै परिवर्तन नआएको चर्चा गर्दै सामाजिक विभेदविरुद्ध र रुपान्तरणका एजेन्डामा कलम चलाउनुपर्ने बताउनुभयो । 

महासंघका झापा अध्यक्ष एकराज गिरीको अध्यक्षता, उपाध्यक्ष केशव भट्टराईको स्वागत र सचिव डिकेश लामाको उद्घोषणमा भएकोउक्त कार्यक्रममा अन्तरक्रियामा महासंघ झापाका पूर्वअध्यक्ष केशव आचार्य, गोविन्दचन्द क्षेत्री लगायतले मन्तब्य र जिज्ञासा व्यक्त गर्नु भएको थियो ।