६ जेठ २०८१, आइतवार

जनसहयोगमा बन्यो काँकरभिट्टाको ट्राफिक पोस्ट

५ माघ २०८०, शुक्रवार
Image

झापा, ५ माघ । जनसहयोग (चन्दा) संकलन गरेर काँकरभिट्टा ट्राफिक प्रहरीको कार्यालय निर्माण भएको छ ।

मेचीनगर–६ काँकरभिट्टास्थित पुरानो भन्सार क्षेत्रमा राजमार्गसँगै जोडिएको खाली सरकारी जग्गामा मेची सामुदायिक सेवा केन्द्रको संयोजनमा भवन निर्माण भएको हो  ।

भवन बनाउन रु. २२ लाख खर्च भएको भवन निर्माण समितिका कोषध्यक्ष सुभाष गुरुङले बताउनुभयो ।

एक तले नवनिर्मित भवनमा ब्यारेक, इञ्चार्ज कक्ष, कार्यालय र इञ्चार्ज निवास गरी चार कोठा छन् भने शौचालय समेत बनाइएको छ ।

बिगत २६ वर्षदेखि सडकपेटीमा घुम्तीबाट काँकरभिट्टाका ट्राफिक प्रहरीले सेवा दिइरहेका थिए । दाताहरुले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै भवन निर्माणमा आर्थिक सहयोग पुर्याएकोमा दाताहरुलाई सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले आभार व्यक्त गर्नु भएको छ ।

केन्द्रले विहीवार एक कार्यक्रमबीच ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाको भवन निर्माणमा सहयोग गर्ने एकसय बढी व्यक्ति एवं संघसंस्थालाई सम्मान गरेको छ ।

सेवा केन्द्रका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष खडानन्द भण्डारी र सञ्चालन समिति सल्लाहकार सदस्य सुभद्रा भट्टराई अर्यालले गर्नु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि संविधानसभा सदस्य रविन कोइराला हुनुहुन्थ्यो ।  ट्राफिक प्रहरी नायव निरीक्षक लिलाकुमार श्रेष्ठले आफ्नो कार्यकालमा भवन निर्माण सम्पन्न भएकोमा मेची सामुदायिक सेवा केन्द्र र दाताहरुप्रति आभार व्यक्त गर्नृ भएको छ ।