२१ वैशाख २०८१, शुक्रवार

आज अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा, नेपालसम्म उल्लास

८ माघ २०८०, सोमवार
Image

झापा, ८ माघ । भारतको अयोध्याको नवनिर्मित राम मन्दिरमा आज प्राण प्रतिष्ठा हुँदैछ ।

दिउँसो साढे १२ बजे हुने प्राण प्रतिष्ठा अनुष्ठानमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत यजमान बन्दै हुनुहुन्छ । उहाँसहित १५ जनाले यजमानको भूमिका निर्वाह गर्ने बताइएको छ ।

बाबरी मस्जिद भत्काइएको स्थानमा राम मन्दिर बनेको हो । शताब्दियौं लामो विवाद अदालतबाट टुंगिएपछि मन्दिर बनेको हो ।

भारतीय सत्तारुढ पार्टी बीजेपीले यजमानको रुपमा प्रधानमन्त्री मोदीलाई नै अघि सारेर अनुष्ठानलाई राष्ट्रिय उत्सवको स्वरुप दिएको छ । 

राम मन्दिरको निर्माणलाई हिन्दू पक्षधर राजनीतिक शक्तिहरुले आफ्नो शक्ति प्रदर्शनको रुपमा लिएका छन् । जसको प्रभावले भारतीय राजनीति यस विषयमा विभाजित बनेको छ भने हिन्दू वाहुल्य छिमेकी मुलुक नेपालमा पनि प्रभाव देखिएको छ ।

नेपालमा मधेश प्रदेशका विभिन्न पालिकाले आज विदा नै दिएका छन् भने मठमन्दिरमा विशेष उत्सवहरुको आयोजना भएका छन् । झापाको काँकरभिट्टामा र्याली र पूजापाठको कार्यक्रम आयोजना भएको छन् ।

भारतमा भने दुई शंकराचार्यले राम मन्दिरको प्राण प्रतिष्ठा अनुष्ठानमा उपस्थितिको निम्तो अस्वीकार गर्दै मोदीको आलोचना गर्नु भएको छ ।

उहाँहरुले मोदी धर्मनिरपेक्षताको शपथ लिएको व्यक्ति भएकाले धर्मको क्षेत्रमा हस्तक्षेप भएको टिप्पणी गर्नु भएको छ । राजनेताहरु सत्तामा आउने र जाने चलिरहने प्रक्रिया भएकाले धर्म त्यसको छाया बन्न नसक्ने उहाँहरुको भनाई सार्वजनिक भएको छ ।

उहाँहरुले राम मन्दिरको निर्माण कार्य अधुरो रहेको समेत बताउनु भएको छ । लोकसभाको चुनाव नजिक आइरहेको हुँदा भोटको राजनीतिका लागि मोदी प्राण प्रतिष्ठाका लागि हतारिएको शंकराचार्यहरुको आरोप छ ।

भारतका प्रमुख विपक्षी दल कांग्रेसका नेताहरु कोही पनि अनुष्ठानमा सहभागी नहुने भएका छन् । 

नेपालबाट थुप्रै सन्त, महन्त र धर्मानुरागीहरु अयोध्या पुगेका छन् । राम मन्दिरको गर्भगृहमा बाल राम भगवानको मूर्ति राखिएको छ, जसको आज प्राण प्रतिष्ठा हुन लागेको हो ।

यो मूर्ति मैसुरका अरुण योगीराजले बनाएका हुन् । तीन वटा मूर्ति तीन जनालाई बनाउन लगाइएको थियो । जसमध्ये योगीराजको मूर्ति चयन गरिएको हो ।