२१ वैशाख २०८१, शुक्रवार

विर्तामोडको सार्वजनिक स्थानमा कुकुरलाई आची गराए पाँच हजार जरिवाना

८ माघ २०८०, सोमवार
Image

झापा, ८ माघ । विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सार्वजनिक स्थानमा कुकुर डुलाएर दिसापिसाब गराए पाँच हजार रुपैयाँ जरिवाना गराइने बताउनुभएको छ ।

विर्तामोड–१ मा सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उहाँले हालै उक्त जानकारी दिनुभएको छ ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा कुकुर डुलाएर दिसापिसाब गराउनेलाई पक्राउ समेत गरिरहेको बेला विर्तामोडले समेत उस्तै प्रकृतिको कार्वाही अघि बढाउने संकेत दिएको छ ।

उपप्रमुख संग्रौलाले जरिवाना मात्र होइन, कुकुरधनीलाई थप कार्वाही समेत गरिने बताउनु भएको छ ।

सहरी क्षेत्रमा आफुले पालेका कुकुर विहानै डुलाउँदै सडक किनार र पार्कमा लगेर दिसा पिसाब गराउने नराम्रो चलन बढ्दै गएको छ ।

विर्तामोड नगरपालिकाले यस्तो कार्वाहीका लागि टोल विकास समितिको सहयोग लिने बताइएको छ । हालसम्म कसैलाई पनि कार्वाही भएको सार्वजनिक भने भएको छैन ।