२ कार्तिक २०८१, शुक्रवार

सञ्चालन नहुँदै खण्डहर बन्यो सहिद स्मृति पार्क

९ माघ २०८०, मङ्गलवार
Image

झापा, ९ माघ । विर्तामोड नगरपालिका–७ मा दुई वर्ष अघि निर्माण भएको सहिद नेत्र स्मृति पार्क सञ्चालनमा नआउँदै खण्डहर बनेको छ । स्थानीय समुदायले पार्क सञ्चालनको वातावरण बनाउन सरसफाई अभियान सुरु गरेका छन् ।

आन्तरिक पर्यटक आकर्षित गर्ने भन्दै दुई वर्षअघि नै पार्क निर्माण भएको थियो । कोरोना महामारीका कारण सञ्चालनमा कठिनाई भएपछि हालसम्म पार्क अलपत्र नै रह्यो । नेपाल सरकारको १०१ औं गन्तब्य सूचीमा सूचीकृत उक्त पार्क सञ्चालनमा ल्याउन सर्वपक्षीय अभियान सुरु गरिएको वडाध्यक्ष कृष्ण खरेलले बताउनुभयो । 

पार्क बन्नु अघि त्यस स्थानमा भूटानी शरणार्थी शिविर रहेको थियो । शरणार्थीहरु तेस्रो मुलुक पुनर्वास भएपछि उक्त स्थानलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न सरकारले रु दुई करोड लगानी गरेको थियो ।

बाइस विगाहा क्षेत्रफलमा फैलिएको शिविरलाई सहिद नेत्र पार्क घोषणा गरिएपछि पर्यटक लोभ्याउन महँगा मूल्यका पूर्वाधार संरचना निर्माण गरिएका थिए । सरकारी बजेटबाट चिल्ड्रेन पार्कदेखि स्विमिङ पुलसम्म पहिल्यै निर्माण गरिएको थियो । आकर्षक प्रवेशद्वार र उद्यान समेत बनाइएको थियो ।

वि.सं. २०२९ साल फागुन २१ गते झापा र इलामको सीमानामा पर्ने सुखानीको जंगलमा पञ्चायती सरकारबाट जेल सार्ने निहुमा गोली हानी हत्या गरिएका झापा विद्रोहका पाँच सहिदमध्ये एक हुनुहुन्थ्यो नेत्र घिमिरे । सहिद नेत्र घिमिरेकै स्मृतिमा उक्त पार्क बनाइएको हो ।

पूर्वाधार निर्माण गरे पनि पार्क सञ्चालनमा आउन नसक्दा अधिकांश संरचना काम नलाग्ने अवस्थामा पुगेका छन् । विर्तामोड वडा जनप्रतिनिधि र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलमा राजनीतिक दल, संघसंस्थाका प्रतिनिधि र विद्यार्थीहरु पार्कको झाडी फाड्ने र सरसफाई कार्यमा जुटेका हुन् ।

“राज्यको ठूलो लगानी खेर जाने अवस्थामा पुग्यो,” वडाध्यक्ष कृष्ण खरेलले भन्नुभयो, “यसको संरक्षण र सम्बद्र्धन गर्नु आम नगरबासीको दायित्व हो । अब सरसफाई गरेर चाँडै पार्क सञ्चालनमा ल्याउँछौ ।” स्थानीयले आउँदो एक सातासम्म लगातार सरसफाई गर्ने भएका छन् ।

सामुदायिक बनका अध्यक्ष बद्री प्याकुरेलले शौचालय, खानेपानी र बिजुली बत्ती उपलब्ध गराएर पार्कलाई पुनजीर्वित गरिने बताउनुभयो । उहाँले जंगली हात्ती डुलिरहने हात्ती करिडरमा पार्क रहेको हुँदा सुरक्षाको बन्दोबस्तका लागि पर्यटकीय अवलोकन क्षेत्रमा विद्युतीय घेराबेराको तयारी भइरहेको जानकारी दिनुभयो ।

पार्कमा बालबालिकालाई खेल्नका लागि पिङ, चिप्लेटी लगायतका प्लास्टिकका संरचना बनाइएका थिए भने डाइनोसर लगायतका फाइवरका ठूला प्रतिमा स्थापना गरिएका थिए । जगेर्ना नहुँदा लाखौं खर्चेर किनिएको डाइनोसरको मूर्ति क्षतिग्रस्त भएको छ । पोखरी र पार्क क्षेत्र झाडीले छोपिएको छ ।