२३ भदौ २०८१, आइतवार

छ महिनामा कोशीमा दुर्घटनामा १८८ को मृत्यु

११ माघ २०८०, बिहिवार
Image

झापा, ११ माघ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले छ महिनाको अवधिमा सवारी दुर्घटनामा परी १८८ जनाको मृत्यु भएको जनाएको छ । 

कार्यालयले सोही अवधिमा ४१५ जना गम्भीर घाइते र दुई हजार ३५० जना सामान्य घाइते भएको जानकारी दिएको छ । 

कार्यालयका प्रमुख श्यामकुमार महतोका अनुसार चालु आर्थिक बर्षको साउनदेखि पुस मसान्तसम्ममा सडकमा सवारी नियम उल्लङ्घन गर्ने सवारी कारवाहीबाट रु सात करोड, ८५ लाख ९६ हजार ८४३ राजस्व सङ्कलन गरेको छ । 

कार्यालयले सो अवधिमा प्रदेशका १४ जिल्लामा एक लाख १७ हजार १९८ वटा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनलाई कारवाही गरेको थियो ।  उहाँले मोरङ जिल्लाबाट सबैभन्दा बढी सवारी कारवाहीबाट राजस्व संकलन गरेको बताउनुभयो । मोरङले २७ हजार ६५७ सवारीलाई कारवाही गरी रु. एक करोड ८२ लाख ८१ हजार ५०० राजस्व सङ्कलन गरेको थियो । 

प्रमुख महतोले सवारी दूर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई विशेष प्राथमिकता दिइरहँदा पनि दुर्घटना बढिरहेको बताउनुभयो । 

कार्यालयले मातहातका कार्यालय मार्फत १४ जिल्लामा सिटी सफारी व्यवस्थापन, चालकको लापसे, मापासे चेकजाँच, चोरीको सवारी साधान नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रममा जोड, फुटपाथ व्यवस्थापन, पार्किङ व्यवस्थापन, प्रविधिको जडान तथा प्रयोगका लागि समन्वय आदि काम गरिरहेको छ ।

उहाँले हाल तराईको क्षेत्रमा हुस्सु, कुहिरोबाट हुने दुर्घटना न्यूनीकरणका लागि सवारीमा रिफ्लेक्टर स्टिकर टाँस, ट्राफिक कम्यूनिकेसन एप्सको प्रयोग र सरोकारवाला निकायहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो ।